Sat. Oct 19th, 2024

अफगानिस्तानमा तालिबानद्वारा दाह्री काट्न प्रतिबन्ध

काठमाण्डौं, २०७८ असोज ११ गते सोमबार । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्न प्रतिबन्ध लगाएको छ । तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।

उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्। उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो। गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ।

शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ। ”कसैसँग पनि गुनासो गर्ने अधिकार छैन,” बीबीसीले देखेको सूचनामा उल्लेख छ। ”लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्,” काबुलस्थित एक नाऊले भने।

”तीमध्ये एकजनाले हामीलाई पक्रन खुफिया निरीक्षक पठाउनसक्ने बताए।” सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाऊले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए। बीबीसी

Facebook Comments