Thu. Apr 25th, 2024

काठमाडौंबाट खण्डग्रास सूर्यग्रहण, कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?

काठमाडौं, २०७६ पुष १० गते बिहीबार ।

काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो । पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८:४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।

काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । यद्यपि, वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाएका छन् ।

अनलाईन खवरका अनुसार ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ ।

समितिले कीर्तिपुरस्थित संग्रहालयमा अवलोकनको व्यवस्था मिलाएको हो । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको बताउनु भयो ।

शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्नसक्नेछन् । अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायतलाई आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उहाँको भनाइ छ ।

कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर ९१२ घण्टा० अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका व्यक्तिमा भोजन निषेध गरिएको उहाँको भनाइ छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य गर्नु हुँदैन । यी कार्य गर्दा अशुभ हुन्छ । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेको गौतमले बताउनु भयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।

ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ । शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

Facebook Comments