Wed. Sep 25th, 2024

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री देउवाद्वारा जन्म दिनको शुभकामना

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य तथा आगामी दिनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको ७१औँ जन्मदिवस हो ।

भारतीय प्रधानमन्त्री मोदी भारतीय राजनीतिक इतिहासमा सबैभन्दा लामो अवधि प्रधानमन्त्रीका रूपमा सेवा गर्ने चौथो शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीहरू जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंहपछि मोदी नै सबैभन्दा लामो समय प्रधानमन्त्री हुने राजनीतिज्ञ हुनुहुन्छ । उहाँले सन् २०१४ को मे २६ देखि भारतका १४औँ प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल सुरु गर्नुभएको हो । उहाँको दोस्रो कार्यकाल सन् २०१९ मे ३० बाट सुरु भएर १५औँ प्रधानमन्त्रीका रूपमा हालसम्म कायम छ । भारतको गुजरातको महेसाणा जिल्लाको बडनगरमा सन् १९५० सेप्टेम्बर १७ मा उहाँको जन्म भएको थियो ।

भारतीय जनता पार्टीसँग आबद्ध उहाँ राजनेतासँगै एक कवि पनि हुनुहुन्छ । उहाँले गुजराती, हिन्दी लगायतका भाषामा राष्ट्रभक्तिपूर्ण कविता कोर्नुभएको छ । विवाहित भए पनि उहाँ सन्त स्वभावमा पछिल्लो समय आफ्नो जीवन व्यतित गर्दै आउनुभएको छ । गुजरात विश्वविद्यालयबाट उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँको कार्यकालमा नेपालसँगको सम्बन्ध थप सुमधुर भएको छ । छिमेकीलाई पहिलो प्राथमिकता दिने उहाँको कूटनीतिक सोच र सबैसँग मित्रता राख्ने नेपालको परराष्ट्र नीतिको बलियो पक्षका कारण पछिल्लो समय दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।

यसैबीच संसद्मा प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको जन्म दिनको अवसरमा विशेष शुभकामना व्यक्त गर्नुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments