Tue. Sep 24th, 2024

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । वैज्ञानिकहरूको एक समूहले पृथ्वीको सबैभन्दा उत्तरी दिशामा रहेको टापु पत्ता लगाएको बताएको छ।

जुलाईमा वैज्ञानिकहरू सन् १९७८ मा पत्ता लगेको ओणाक टापुबाट नमुना सङ्कलनका लागि उडेका थिए।

तर जब उनीहरूले आर्टीक क्षेत्रमा रहेका टापुहरूको दर्ता गर्ने डेनिश अधिकारीलाई आफ्नो अवस्थिति बताए, उनीहरू ओणाक टापुबाट ८०० मिटर उत्तरमा अर्कै स्थानमा रहेको थाहा पाए।

उनीहरूले ६० मिटर लामो र ३० मिटर चौडाइको सो टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको जमिन भएको बताएका छन्।

डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड उत्तरी ध्रुव नजिकको ठूलो टापुहरूको क्षेत्र हो।

“सो टापु मैले संयोजन गरेको डेनिस-स्वीस अध्ययन भ्रमणको क्रममा पत्ता लागेको हो,” कोपनह्यागन विश्वविद्यालयको ग्रीनल्यान्डस्थित आर्टीक स्टेसनका मोर्टन रास्चले भन्नुभयो ।

“हामी पहिले सबैभन्दा उत्तरमा रहेको ठानिएको ओणाक टापु भ्रमण गर्न चाहन्थ्यौँ।”

उहाँले आफ्नो टोलीले “अति चरम वातावरण भएको ओणाक टापुमा कसरी नयाँ प्रजातिहरू बाँचिरहेछन् भन्ने थाहा पाउन नमुना सङ्कलन गर्न चाहेको” बताउनु भयो ।

“हामी एउटा सानो हेलिकप्टरमा छ जना थियौँ र जति बेला हामी ओणाक टापु भएको ठाउँतिर पुग्यौँ, हामीले टापु देखेनौँ,” उहाँले आर्टीक क्षेत्रको नक्सा धेरै राम्रो नभएको बताउँदै भन्नुभयो ।

Facebook Comments