Tue. Sep 24th, 2024

एपल कम्पनीका प्रमुख कार्यकारीलाई ७५ करोड अमेरिकी डलर बोनस

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । एपल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गर्नुभएका टीम कुकले ५० लाख कित्ता शेयर प्राप्त गर्नुभएको छ ।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा शेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेच्नु भएको छ ।

उहाँलाई दिइएको शेयर एपलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ।

सहमतिमा उहाँलाई एपलको शेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो।

एपलका अनुसार गत तीन वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उहाँले सो सङ्ख्यामा शेयर प्राप्त गर्नुभएको हो ।

एपलको शेयर मूल्य सन् २०११ मा उहाँ प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ। आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ।

गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गर्नुभएको थियो । यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब एक करोड अमेरिकी डलर बराबरको शेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताउनु भएको थियो। उहाँ परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्नुहुन्छ । बीबीसी

Facebook Comments