Tue. Sep 24th, 2024

अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम भएको चेतावनी

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन्। विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ।

दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन्।

१० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन्।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा गरेको छ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि यूके र अमेरिकाको यस्तो सुझाव आएको हो।

आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताउनु भएको छ । भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ।

काबुलबाट प्राप्त विवरणहरूका अनुसार तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा पनि स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गर्नुभएको थियो ।

उहाँले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताउनु भएको थियो ।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन्।

त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन्। बीबीसी

Facebook Comments