Tue. Sep 24th, 2024

तालिबानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल ‘जान नदिने’

- चेपुवामा अफगान नागरिक

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताउनु भएको छ ।

आज (मङ्गलवार) एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले “ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने” बताउनु भयो। तर उहाँले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाउनु भयो ।

अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिद बोल्नु भएको हो ।

तालिबान प्रवक्ता मुजाहिदले के के भन्नुभयो ? 

अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ। तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।

तर तालिबान प्रवक्ता मुजाहिदले भन्नुभयो, “हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस्… हामीलाई उनीहरूको कौशल आवश्यक छ।”

यसै महिनाभित्र ‘सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको’ भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान प्रवक्ताको भनाइ थियो।

विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न तालिबान प्रवक्ताको आग्रह थियो।

महिलाहरूलाई काममा जानका लागि स्थायी रूपमा रोक नलगाइने बताएका जबिहुल्लाह मुजाहिदले भन्नुभयो, ”हाललाई कुनै खराब व्यवहार नहोस् भन्नका लागि … त्यो उनीहरूकै हितमा छ।”

उहाँले अफगान सञ्चारमाध्यम, अस्पताल, शैक्षिक संस्था र स्थानीय सरकारहरूले पुनः काम गर्न थालेको बताउनु भयो ।

प्रतिशोध लिन कसैलाई निसानामा नराखिएको र कुनै सूची नभएको बताउँदै उहाँले “विगतका सबै कुरा बिर्सिएको” बताउनु भयो । बीबीसी

Facebook Comments