Tue. Sep 24th, 2024

नेकपा एमालेको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म, विधान अधिवेशन असोजमा

- दशबुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

त्यसैगरी असोज ४, ५ र ६ गते विधान अधिवेशन गर्ने निर्णय समेत भएको छ । विधान अधिवेशनको तयारीका लागि यही भदौ १० गते केन्द्रीय कमिटी बैठक वोलाउने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

यसैबीच एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले आन्तरिक एकताका लागि दुई महिनाअघि भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा माधवकुमार नेपाल समूहमा रहनुभएका असन्तुष्ट नेताहरु पनि सहभागी हुनुभएको थियो ।

एमालेले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

Facebook Comments