Thu. May 2nd, 2024

नेकपा स्थायी कमिटीको चौथो बैठक सम्पन्न, राजनीतिक प्रतिवेदन संशोधनसहित पारित

काठमाडौं, २०७६ पुष ६ गते आईतबार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

मङ्सिर २९ गते सुरु भएर सात दिनसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा चलेको बैठकमा स्थायी कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि व्यापक छलफल र विमर्श गर्नुभएको थियो । त्यसैगरी, महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाहरूको आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार केन्द्रीय कमिटीको बैठक पुस २३ गतेदेखि काठमाडौंमा गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । केन्द्रीय कमिटीको बैठक अघि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसंगठन)का कामहरू पूरा गरिसक्न बैठकले निर्देशन दिएको बैठक पछि पर्टी प्रवत्ता नरायणकाजी श्रेष्ठद्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।

हालै लिम्पियाधुरा उद्गमस्थल रहेको महाकाली नदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय समेत  गरेको छ ।

नेपाल–भारत समस्याको सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकोमा त्यस विपरित प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकले नेपाल सरकारद्वारा लिइएका अडान, सबै राजनीतिक दल, संघ–संस्था र सरोकारवालाहरूसँग गरेको सर्वपक्षीय र सर्वदलीय बैठकको आयोजना तथा त्यसमार्फत् सिंगो देशको एउटै दृष्टिकोण, धारणा र अडान बनाउन गरेको पहललाई उचित कदमका रूपमा लिएको छ । पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने विषयमा पनि बैठकले निर्णय गरेको छ ।

बैठक समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै पार्टी अध्यक्ष प्रचण्डले बैठकबाट पार्टीलाई एकताबद्ध गर्न, सांगठानिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको वहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन र पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुगेको धारणा राख्नुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका कारण अनुपस्थित भएर पनि बैठक सफल पार्न राजनीतिक प्रतिवेदनको तयारीलगायत महत्वपूर्ण निर्णय प्रक्रिया एवं बैठक सञ्चालन र निष्कर्षमा पुग्न गर्नुभएको योगदानका निम्ति अध्यक्ष प्रचण्डले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

Facebook Comments