Fri. Apr 19th, 2024

चामल आयातमा भन्सार मूल्यांकन १५ प्रतिशत पुर्याउन माग

काठमाडौं, २०७६ पुष ५ गते शनिबार ।

नेपाल चामल, तेल, दाल, उद्योग संघले चामल आयातमा भन्सार मूल्यांकन १५ प्रतिशत पु-याउन माग गरेको छ । बिहीबार संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर दैनिक अत्यधिक मात्रामा चामल आयात हुँदा नेपाली किसानले धानको उचित मूल्य नपाएको भन्दै चामल आयातमा भन्सार मुल्यांकन बढाउन माग गरेको हो । संघका अध्यक्ष सुवोधकुमार गुप्ताको नेतृत्वको टोलीले विभिन्न माग राखेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सन् १९८१ सम्म ५४ हजार टन धान निकासी गर्ने नेपालले अहिले चामल आयातमा निर्भर रहनुपरेको भन्दै संघले चामल आयातमा कडाई गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताएको छ । जुन अनुपातमा चामल आइरहेका छ त्यही अनुपातमा धान आयात हुने हो भने स्वदेशी मिल सुचारु हुने, रोजगारी सिर्जना हुने ढुवानीलगायतका धेरै क्षेत्रले काम पाउने हुँदा यसप्रति सरकार गम्भिर हुन संघले आग्रह गरेको छ ।

सहुलिएत दरमा उद्योगको नाम धान आयात गर्न पाउने हो भने दुई हजारको हाराहारीमा स्वदेशी चामल मिल सञ्चालन भए व्यापार घाटा कम हुने संघको भनाइ छ । संघले चामल उद्योगको प्रयोजनको लागि धान आयात गर्दा एक प्रतिशत कृषि सुधार शुल्कमा आयात हुने व्यवस्था हुनुपर्ने, विदेशबाट आयातित चामलको एमआरपी (अधिकतम खुद्रा मूल्य) र गुणस्तर जाँच हुनु पर्ने संघले माग गरेको छ ।

यस्तै कम गुणस्तरको चामल आयात भइरहेकाले प्याकिङक तथा बोरामाथि आयातकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर राख्नुपर्ने, तौल, उत्पादन मिति, लेवल उल्लेख गर्नुपर्ने माग गरेको छ । अहिले भारतबाट धान २० प्रतिशत र चामल ८० प्रतिशत चामल आयात भइरहेको छ । यस्तै संघले तोरीको गेडा आयातमा भन्सार महसुल वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको यसलाई परिमार्जन गरी एक प्रतिशत कायम हुन सकेमा धेरै राहत मिल्ने बताएको छ ।

अप्रशोधित दाल तथा गेडागुडी र प्रसोधित दालमा समान भन्सार महसुल १० प्रतिशत लाग्दै आएकाले यसले उद्योगलाई प्रत्यक्ष असर पारेको संघको भनाइ छ ।कारोबार दैनिकबाट

Facebook Comments