Tue. Sep 24th, 2024

चीनस्थित विश्वको तेस्रो ठूलो बन्दरगाह बन्द हुँदा विश्वभर आपूर्ति प्रभावित हुने चिन्ता

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । कोरोनाभाइरसका कारण चीनले ठूलामध्ये एउटा कार्गो बन्दरगाह आंशिक रूपमा बन्द गर्दा विश्व व्यापारमा त्यसले पार्ने असरलाई लिएर नयाँ चिन्ता शुरू भएको छ।

एकजना कामदार कोभिड-१९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गपाओ-जोसान बन्दरगाहका सेवाहरू बन्द गरिएको हो। पूर्वी चीनमा अवस्थित उक्त बन्दगाह विश्वकै तेस्रो धेरै व्यस्त कार्गो बन्दरगाह हो। क्रिस्मसका लागि गरिने किनमेलअगाडि उक्त बन्दगाहका सेवा बन्द हुँदा आपूर्ति प्रणाली थप अवरुद्ध हुने खतरा उत्पन्न भएको छ।

मेशान द्वीपमा रहेको उक्त बन्दगाहको टर्मिनल अर्को सूचना जारी नभएसम्म बन्द गरिएपछि एक चौथाइले कन्टेनर कार्गो सेवा कटौती भएको छ। चीन र दक्षिण पूर्व एशिया तटबाट अमेरिकाको पूर्वी तटतर्फ पानीजहाजबाट सामान ओसारपसार गर्दा लाग्ने खर्च कीर्तिमानी स्तरमा पुगेका विवरणबीच पछिल्लो समाचार आएको हो।

यूकेका कतिपय व्यापारीले पहिल्यैदेखि सामान ओसारपसार गर्दा बढेको खर्चको दबाव महसुस गरिरहेका छन्। असन शिपिङ्ग कन्सलट्यान्ट्सका जेसन चिआङ्गले बीबीसीको एशिया बिजनेस रिपोर्टसँग कुरा गर्दै विश्वव्यापी शिपिङ्ग उद्योगले कैयौँ महिनासम्म महामारीको असर झेल्ने देखिएको बताउनु भयो ।

साङ्घाई र सिङ्गापुरपछि निङ्गबाओ-जोसान विश्वको ठूलो बन्दरगाह हो। त्यसका टर्मिनलहरू लामो समयसम्म बन्द रहे भने विश्वको अर्थतन्त्रमा ठूलो असर पर्नेछ।

बन्दरगाह रहेको निङ्गपाओ शहरका अधिकारीहरूले त्यहाँबाट चिनियाँ राजधानी पैचिंग जाने र पैचिंगबाट आउने हवाई उडानहरू पनि बन्द गराएका छन्।

निङ्गपाओ-जोसान बन्दरगाहसँग जोडिएको एउटा जिल्लामा आंशिक लकडाउन गरिएको छ जहाँ सिनेमाघर, व्यायामशाला तथा बारहरू बन्द गराइएका छन्।

वर्षको उत्तरार्द्धतिर युरोप र उत्तर अमेरिकामा क्रिस्मस र अरू बिदाहरू अगाडि हुने उच्च व्यापारका लागि तयारी भइरहँदा उक्त चिनियाँ बन्दगाहका सेवा बन्द भएको छ।

पछिल्ला महिनाहरूमा कोरोनाभाइरस सम्बन्धित कारणले चिनियाँ बन्दगाह बन्द भएको यो दोस्रो घटना हो। यसअघि गत मे महिनाको अन्त्यतिर अर्को बन्दरगाह कैयौँ हप्ताका लागि बन्द गराइएको थियो।

कोभिड महामारीले विश्वभरि आर्थिक गतिविधि अवरुद्ध भएपछि कम्पनीहरूले सामान जुटाउन अझै सङ्घर्ष गरिरहेका छन्। यसअघि गत मार्च महिनामा सूइज नहरमा विशाल मालवाहक पानीजहाज अड्किँदा विश्व आपूर्ति प्रणालीमा ठूलो असर परेको थियो।

एभरगिभन पानीजहाजका कारण उक्त जलमार्ग करिब एक साता अवरुद्ध हुँदा सूइज नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको थियो। बीबीसी

Facebook Comments