Tue. Sep 24th, 2024

दार्चुला घटनामा सरकार मौन बसेको प्रतिपक्षीको आरोप

- बेपत्ता जयसिंह धामीको खोजी जारी रहेको गृहमन्त्री खाँणको भनाई

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले दार्चुलाको घटना र कोरोना भाइरस विरुद्धको खोपको विषयलाई लिएर सरकारमाथि आक्रोस पोखेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षी दलका सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्फर्टेबल भएको भन्दै निन्दा गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफू बसेको ठाउँबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदले शून्य समयको भरपुर उपयोग गरेका छन् ।

सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्य/तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘सत्य/तथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको छ ।

सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेकोप्रति कवितात्मक शैलीमा खरो टिप्पणी गनुभयो । उहाँले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनऊ । प्रधानमन्त्री भन्नुहुन्छ-खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, नागरिक दिनभरि लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । वीर अस्पतालकाे एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ ।

गोरखापत्र अनलाईनका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताउनुभयो ।

सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासँग पनि स्थानीय तहबाट समन्वय गरिएको उहाँले बताउनुभयो । दार्चुलाको व्यास गाउँपालिका-२ खाङदाङ माल बस्ने धामी सोही गाउँपालिकाको वडा नं २ मूलघाटबाट भारतको गस्तु पुग्न महाकाली नदीको तुइन तर्ने क्रममा यही साउन १५ गते नदीमा खसरेर बेपत्ता हुनुभएको थियो ।

धामी बेपत्ता भएपछि नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं ४४ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाटसहित तीन जनाको टोली स्थलगत छानबिनको लागि घटनास्थल खटिएको थियो ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको जानकारी गराउनुभयो । उहाँले बेपत्ता जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइनबाट भारतर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिरामसिंह धामीसँग सोधपुछ भइरहेको बताउनुभयो ।

नदी तर्न बाँकी अनिता धामी, विक्रम रङकोली र कल्याण धामीसँग यसबारे जानकारी लिन जिल्ला सदरमुकाममा बोलाइएको, जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलीय बैठक भएको, तथा भारततर्फका नेसनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीबाट पनि खोजी भइरहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सम्बन्धमा साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थल गइसकेको सदनलाई जानकारी दिनुभयो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट(जोशी) गरी पाँच जना रहनुभएको छ ।

नेपालबाट भारतीय सीमा प्रवेश गर्न अहिले पनि तुइनको प्रयोग भइरहेको तथा महाकाली नदीमा चार वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका मन्त्री खाँणले जानकारी दिनुभयो । गृहमन्त्रीको वक्तव्यप्रति सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, गगनकुमार थापा, शेरबहादुर तामाङ, शान्ता चौधरी, विमला विक, गणेशसिंह ठगुन्ना, महेश बस्नेत, देवेन्द्रराज कँडेल, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला पन्त, पदम गिरी, राजेन्द्रकुमार केसी, यशोदा सुवेदी गुरुङ, प्रेम सुवाल र विशाल भट्टराईले प्रतिप्रश्न गर्नुभएको थियो ।

Facebook Comments