कोरोना भाइरस चीनको नान्चिङ शहरबाट अन्यत्र फैलियो
काठमाण्डौं, २०७८ साउन १६ गते शनिबार । चीनको नान्चिङ सहरमा फेला परेपछि कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी पैचिंगसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरूले अहिलेको अवस्थालाई “वुहानपछिको सबैभन्दा व्यापक महामारी” को सङ्ज्ञा दिएका छन्। जुलाई २० मा नान्चिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना सङ्क्रमित भइसकेका छन्।
एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्चिङबाट हुने सबै उडान स्थगित गरिने जनाएको छ।
सरकारी निकायबाट चुक भएको भन्दै आलोचना भएको बेला अधिकारीहरूले सहरभरि परीक्षण सुरु गरेका छन्। सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा मानिसहरू परीक्षणका लागि पङ्क्तिबद्ध भएको देखिन्छ। सरकारी निकायले मानिसहरूलाई परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेको विवरणहरू प्राप्त भएका छन्। बीबीसी