Wed. Nov 13th, 2024

प्रधानमन्त्रीसँग जापान र अष्ट्रेलियाका राजदूतको भेट   

काठमाण्डौं, २०७८ साउन ७ गते बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतले आज बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराउनुभएको हो । हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल-जापान सम्बन्धका विविध विषयमा उहाँहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया-नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड-१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड-१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताउनुभयो । रासस

Facebook Comments