Tue. Apr 23rd, 2024

एयर चाईनाद्वारा जनकल्याण मा.वि.लाई शैक्षिक सामग्री प्रदान ।

काठमाडौं, २०७६ पुष ३ गते बिहीबार ।

एयर चाईनाको काठमाडौं कार्यालयले मोरङ जिल्लाको कानेपोखरी गाउँपालीका, आईतबारेस्थित जनकल्याण माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेको छ ।

काठमाडौं दरवारमार्गस्थित सिन् च बुक स्टोरमा बुधबार आयोजित एक समारोहमा एयर चाईनाको काठमाडौं कार्यालयका प्रबन्ध निर्देशक स्या वे ले चिनिया भाषा अध्ययनका लागि सहयोगी हुने विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गर्नुभएको हो ।

सो समारोहमा बोल्नु हुँदै प्रबन्ध निर्देशक स्या ले चीन र नेपालबीच परम्परादेखि असल मित्रता कायम रहँदै आएको र यो सम्बन्ध जनस्तरसम्म विस्तार भैरहेको बताउनु भयो । नेपाल भ्रमण गर्ने चिनिया पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेको परिप्रेक्ष्यमा चिनिया भाषाको महत्व पनि बढ्ने हुँदा जनकल्याण माध्यमिक विद्यालयमा चिनिया भाषा अध्ययन गर्ने विद्यार्थीहरुले भविष्यमा भाषा अध्ययन मार्फत प्रशस्त मात्रामा फाईदा लिन सक्ने विश्वास पनि प्रबन्ध निर्देशक स्या ले गर्नुभयो । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको स्मरण गर्नुहुँदै प्रबन्ध निर्देशक स्या ले एयर चाईना नेपाल भ्रमण गर्ने पर्यटक तथा चीन एवम् विश्वका विभिन्न देशहरुमा जान चाहने नेपालीहरुको असल साथी भएको जानकारी दिनुभयो । साथै प्रबन्ध निर्देशक स्या ले भविष्यमा पनि जनकल्याण माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्नु हुँदै शिक्षक काजिराम गौतमले जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न एयर चाईनाले उपलब्ध गराएको शैक्षिक सामग्री महत्वपूर्ण हुने भन्दै सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा गर्नुहुँदै शिक्षक गौतमले एयर चाईनाले उपलब्ध गराएका शैक्षिक सामग्रीहरुको प्रयोग गरि छिट्टै नै चिनिया भाषा कक्षा सञ्चालन गर्ने बताउनु भयो । सुरुवातमा कक्षा ४ र ५ का विद्यार्थीहरुलाई चिनिया भाषा अध्यापन गराईने जानकारी दिनु हुँदै गौतमले क्रमिक रुपमा भाषा शिक्षणको स्तर अभिवृद्धि गरि एच एस के तेश्रो लेभल सम्म पुर्याईने योजना रहेको बताउनु भयो । शिक्षक गौतमले भविष्यमा पनि यस किसिमको सहयोग एयर चाईनाबाट प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।


सो अवसरमा बोल्नु हुँदै चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका नेपाल व्यूरो चिफ चाङ युवे (वर्षा)ले नेपालको पूर्वी क्षेत्रमा सीआरआईका धेरै श्रोता रहेको जानकारी दिनुहुँदै ती श्रोताले चीन र नेपालबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । सीआरआईका पहिलो पुस्ताका श्रोता यत्तिवेला विभिन्न पेसा र व्यवसायमा क्रियाशिल रही नेपालको विकास निर्माणमा लागि रहनु भएको जानकारी दिनुहुँदै व्यूरो चिफ वर्षाले जनकल्याण माध्यमिक विद्यालयमा चिनिया भाषा अध्ययन गर्नुहुने विद्यार्थी भाइवहिनीहरु पनि भविष्यमा दुई देशबीचको सम्बन्धका वलियो खम्बा बन्न सक्ने विश्वास व्यक्त गर्नुहुँदै उनीहरुलाई मेहनत गरेर चिनिया भाषा सिक्न आग्रह गर्नुभयो ।


एयर चाईनाले उपलब्ध गराएका शैक्षिक सामग्रीहरुमा चिनिया भाषा स्तर जाँच (HSK) परीक्षा एक, दुई र तीनका पाठ्यपुस्तक, अभ्यास पुस्तिका, पेन्सिल, इरेजर, स्केल, फुटवल, टिटीवल, व्याटमिन्टन लगायत रहेका छन् ।

Facebook Comments