Mon. Sep 23rd, 2024

डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ : मन्त्री भुसाल

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जल–ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको  छ  ।

विद्युत् विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जल र ऊर्जा भएको बताउनुभयो । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीयवासी नागरिकले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन पनि आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रूपमा मात्रै नभएर आफ्नै देशको स्राेतबाट उत्पादन भएको ऊर्जालाई सम्पूर्ण ऊर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ ।’

यो क्षेत्र अरू क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै उहाँले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गर्नुभएको छ । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी भएकाे बताउनुभयो । साना उद्यमीहरूलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ-के अप्ठ्यारा छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो ।

‘लोडशेडिङ चीनका लागि मात्रै हटेको हो’, आचार्यले भन्नुभयो, ‘कृषिमा हुने विद्युत् खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ ।’ अध्यक्ष आचार्यले नेपाल अहिले पाँच प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय ऊर्जामा रहेको बताउनुभयो ।

त्यस्तै ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्रालयबाट ऊर्जासम्बन्धी काममा त्यति ढिलाइ नभएको बताउनुभयाे । निजी क्षेत्रलाई कसरी प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो ।

विद्युत् विकास विभागले लाइसेन्स बाँड्ने काम गरेको बताए पनि त्यसो नभएको उपाध्यायको भनाइ छ । उज्यालो अनलाईन

Facebook Comments