Mon. Sep 23rd, 2024

अदालतले कीर्ते कागजलाई मान्यता दियोः एमाले अध्यक्ष ओली

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गर्नुभएको छ ।

‘अल्पमतलाई सरकार बनाउन परमादेश दियो । दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो,’ संसदीय दलको बैठकलाई शुक्रबार नयाँ बानेश्वरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ह्विप नलाग्ने, ह्विप उल्लंघन गरे कारबाही गर्ने । मागै नभएको महाअभिओगमा पनि ह्विप नलगाउने फैसला किन आयो ?’

नेपाली वहस अनलाईनका अनुसार अध्यक्ष ओलीले एमालेविरुद्धको षड्यन्त्र यतिमै नरोकिनेसमेत बताउनुभएको छ । ‘एमाले विरुद्ध अझ धेरै षड्यन्त्र सुरु हुनेछ । सदन छोटो समय बसेर टुङ्गाउन सक्छन् । अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्,’ उहाँको भनाइ छ, ‘प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन्। झुटको खेती चल्नेछ । दमनको सुरुवात हुनेछ ।’

न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निवेदकको र बार एसोसिएसनको दबाबमा इजलास बनेबाटै षडयन्त्र सुरु भएको उहाँको भनाइ छ । ‘फैसलामा सहमति छैन, तर लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

बालुवाटार जग्गा प्रकरणका आरोपी गच्छदारको रिहाइ र मो. आफताव आलमको आंतक सुरु भएको भन्दै अध्यक्ष ओलीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Facebook Comments