Sat. Nov 9th, 2024

जातीय विभेद विरुद्ध रुपा सुनारले दिएको रिट: सर्वोच्चले मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ

काठमाडौं, २०७८ असार २३ गते बुधबार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्चले लिखित जवाफ माग गरेको छ । जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा सञ्चारकर्मी सुनारले श्रेष्ठ विरुद्ध रिट दायर गर्नु भएको थियो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।
सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालयमा पुग्नु भएको थियो । यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

यो मुद्दामा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहितका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । त्यस्तै यो मुद्दालाई शीघ्र टुंगो लगाउनुपर्ने भन्दै अग्राधिकार दिन आदेश दिएको छ ।

Facebook Comments