Sat. Apr 27th, 2024

नेपाल एयरलाइन्सलाई चीन सरकारबाट उडान अनुमति

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो । सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिनुभयो । यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताए पनि पछि त्यो आवश्यक ठानेन ।

अनलाईन खवरका अनुसार अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार(प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा छ । ‘हामी चीनमा रित्तो जहाज उडाउनु नपरोस भन्ने चाहन्छौं,’ ज्वारचनले भन्नुभयो, ‘सोहीअनुसार तयारीको समय राखेर क्वान्चौ उडानको मिति सार्वजनिक गर्छौं ।’

निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने उहाँले बताउनु भयो।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान रहेको छ ।

नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची नहे पनि चीनको अनुमति प्राप्त भएको हो ।

Facebook Comments