Fri. Nov 15th, 2024

लाङटाङ राष्ट्रिय निकुञ्जकाे थप पाँच ठाउँमा निकुञ्ज सुरक्षा पोस्ट स्थापना गरिने

काठमाडौं, २०७८ बैशाक २ गते बिहीबार । लाङटाङ राष्ट्रिय निकुञ्जकाे थप पाँच ठाउँमा निकुञ्ज सुरक्षा पोस्ट स्थापना गरिने भएको छ । अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसँग निकुञ्जको सीमा जोडिएकाले थप पोस्ट स्थापना गर्न लागिएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो ।

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि यसले सहयोग पुर्‍याउने मन्त्री आलेकाे भनाइ छ ।

२६ औँ वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्जमा आयाेजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निकुञ्जमा थप सुरक्षा पोस्ट आवश्यक देखिएकाले महानिर्देशकलाई व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो ।

यसका लागि आवश्यक पर्ने स्रोत र साधनका लागि अर्थ मन्त्रालयसँग बजेट माग हुने छ । अहिले निकुञ्जमा नेपाली सेनाका १५ र राष्ट्रिय निकुञ्जका १७ वटा पोस्ट रहेका छन् ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले कार्यालयमा पर्याप्त कर्मचारी नभएको, स्रोत र साधनको अभाव भएको, भौगोलिक विकटतालगायतका समस्याबारे जानकारी गराउनुभयाे । कार्यक्रममा मन्त्री आलेले निकुञ्जले निर्माण गरेको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियाे । उज्यालो अनलाईन

Facebook Comments