Fri. Sep 20th, 2024

सरकारी वार्ता टोली गठनको थारु कल्याणकारिणी सभाद्वारा स्वागत

काठमाडौं, २०७७ चैत १६ गते सोमबार थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा (एमाले) केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ । थाकसले १९ बुँदे माग राखी एक साता धर्ना कार्यक्रम गरेपछि सरकारले वार्ताका लागि बार्ता टोली गठन गरी आज सोमबार सार्वजनिक गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका पार्वत गुरुङले वार्ता टोलीले थाकससँग बार्ता गरी ठोस सहमति गर्ने बताउनुभयो ।

थारु कल्याणकारिणी सभाको स्वागत
थारु कल्याणकारिणी सभाले सरकारले वार्ता टोली गठन गरी सार्वजनिक गरेको कदमको स्वागत गरेको छ । थाकसको संगठन विभाग प्रमुख तथा पूर्व सांसद रुक्मिणी चौधरीले सरकारले वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गर्दै थाकसले सकारात्मक रुपमा लिएको बताउनुभयो । थाकसले आज सोमबार साँझसम्म वार्ता टोली सार्वजनिक गर्ने बताएको छ ।

वार्ता टोली गठन गर्ने जिम्मेवारी केन्द्रीय अध्यक्ष चौधरीलाई अख्तियारी दिएको थाकसले जनाएको छ । केन्द्रीय कमिटी बैठकले सो अख्तियारी दिएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनुभयो । “हामी बार्ता विरोधी होइनौं, हाम्रो १९ बुँदे मागमै केन्द्रित भएर सरकारसँग वार्ता गर्न हामी तयार छौं” उहाँले भन्नुभयो । गोरखापत्र

Facebook Comments