Fri. Sep 20th, 2024

राष्ट्रिय जनगणनाका लागि चार गुणाभन्दा बढीको आवेदन

काठमाडौं, २०७७ चैत १४ गते शनिबार  राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले निवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।

माग गरिएभन्दा करिब चार गुणाभन्दा बढीले आवेदन दिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले एक लाख ३६ हजार ७०१ जनाले गणक पदमा, १८ हजार ५१३ जनाले सुपरीवेक्षक र दुवै पदमा ३३ हजार ८०९ जनाले आवेदन दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आवेदन दिएका मध्येलाई योग्यताका आधारमा सूची तयारी गरी स्थानीयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिनेछ । उहाँले तथ्याङ्क र जनसङ्ख्या सम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकता दिइने बताउँदै भन्नुभयो, “विभागले निश्चित मापदण्डका आधारमा सक्षम व्यक्ति छनोट गर्नेछ ।” छनोट भएका उम्मेदवारलाई स्थायी ठेगाना भएको स्थानमा काम गर्न असहज भए हाल बसोबास गरेकै स्थानमा पनि काम गर्न खटाउन सकिने विभागले जनाएको छ ।

गणकलाई एक महिनाका लागि करार सेवा छनोट गर्ने र तोकिएको क्षेत्रमा १५ दिन तथ्याङ्क सङ्कलन गर्नुपर्नेछ । उहाँले सुपरीवेक्षकलाई दुई महिनाका लागि करारमा भर्ना गरी उक्त अवधिमा सात दिनको तालिम र २० दिन तथ्याङ्क सङ्कलन, १५ दिन गणक सुपरीवेक्षण र सम्बन्धित वडाको विवरण वडा कार्यालयबाट सङ्कलन गर्नुपर्ने कार्य जिम्मेवारी तोकिने जानकारी दिनुभयो ।

आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि उक्त जनशक्ति करार सेवामा लिन लागिएको होे । आगामी वर्ष गरिने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’भन्ने नारा तय गरिएको छ । गोरखापत्र

Facebook Comments