Tue. Dec 24th, 2024

राष्ट्रपति भण्डारी आज विहान बंगलादेश प्रस्थान गर्दै

काठमाडौं, २०७७ चैत ९ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी राजकिय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्दै हुनुहुन्छ । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमान आरए ००१ मार्फत अहिले विहान ८ बजेर ४० मिनेटमा बङ्गलादेश प्रस्थान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने तयारी सरकारले गरेको छ । गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीलाई उहाँका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुहुनेछ । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानुहुनेछ । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहनुहुनेछ । सो क्रममा उहाँले नेपाल-बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उहाँले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुहुनेछ ।

सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनुहुनेछ । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहनुभएका नेपालीसँग भेट गर्नुहुने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा. मिश्रले आयोजना गर्नुहुने दिवा भोजमा सरिक हुनुहुनेछ । दुई देशबीचको आयात-निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ ।

त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ । राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, मन्त्रालयका उच्चाधिकारी जानुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कनु हुनेछ । गोरखापत्र

Facebook Comments