Fri. Sep 20th, 2024

बहुमत प्राप्त सरकारले सिद्धान्तहीन गठबन्धन गर्दैनः मन्त्री गुरुङ

काठमाडौं, २०७७ चैत ९ गते सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्पष्ट बहुमतको सरकार भएकाले सिद्धान्तहिन गठबन्धन कसैसँग नगर्ने प्रष्ट पार्नुभएको छ । मन्त्रिपरिषद बैठकको निर्णय आइतबार मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभयो । विपक्षीदलहरु मिलेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुभयो भने त्यसबेलाको परिस्थिति हेरेर सामना गर्ने उहाँले बताउनुभयो । सरकार विघटन भएमा निर्वाचनबाट पुनः बहुमत ल्याएर सरकार बनाइने उहाँले प्रष्ट पार्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पार्टीभित्र अब गुटबन्दी नरहेको बताउनुभयो । मुलुकको विकासका निम्ति गुटबन्दी बाधक भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । गल्ती महशुस गरेर आत्मलोचना गरेर आएमा नेपाल पक्ष र माओवादी केन्द्रलाई समेत माफी दिएर एकता कायम गर्ने पक्षमा अध्यक्ष ओली रहनुभएको उहाँले प्रष्ट पार्नुभयो । सरकारले विना योजना कुनै पनि आयोजनाको शिलान्यास र उद्घाटन नभएको प्रष्ट पार्नुहुँदै मन्त्री गुरुङले सबै पक्षको अनुगमन मूल्याङ्कन गरेर नै शिलान्यास गरिएको उहाँले बताउनुभयो ।

शिलान्यासबारे विभिन्न टिप्पणी भए पनि विना तयारी कुनै काम सरकारले नगरेको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रिय गौरवका आयोजनाहरुको काममा प्रगति भइरहेको जानकारी दिनुहुँदै मन्त्री गुरु गुरुङले माथिल्लो तामाकोसी आयोजना वैशाख पहिलो हप्ताभित्र काम सम्पन्न हुने बताउनुभयो । ७६ मेगावाट क्षमता भएको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको चैत ९ र १० गते हुने बंगलादेशको राजकीय भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण सम्झौता हुने मन्त्री गुरुङले जानकारी गराउनुभयो । सांस्कृतिक सम्बन्ध, पर्यटन, कृषि तथा पशुपन्छी, रेलवे, विजुली खरिद विषयमा महत्वपूर्ण छलफल हुने उहाँले बताउनुभयो ।

बैठकले केही स्थानीय तहलाई जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, हुलाकी सडक निर्माण स्तरोन्नति गर्न कैलाली जिल्लाको एलाइन्मेन्टमा परेका १०० थान रुख हटाउन वन कार्यालयलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकले कोभिड १९ अवधिभर गत चैत ९ गतेदेखि भाद्र मसान्तसम्मको होटल उद्योगले तिर्नुपर्ने विद्युत डिमान्ड शुल्क शतप्रतिशत छुट गर्ने र २०७७ असोज १ देखि माघ मसान्तसम्मको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोभिड बाट प्रभावित होटल व्यवसायका निम्ति सरकारले सो निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

२०७७ चैत १० देखि १३ सम्म थाइलैण्डको बैंककमा हुन गइरहेको दिगो विकास सम्बन्धी आठौं प्रशान्त मञ्च विषयक भर्चुवल कार्यक्रममा सहभागी हुन ६ सदस्यीय प्रतिनिधि मण्डल मनोयन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै २०७८ वैशाख १४ देखि १६ सम्म बैंककमा सञ्चालन हुने संयुक्त राष्ट्र संघ एशिया प्रशान्त आर्थिक सामाजिक परिषदको ७७ औं सेसनमा नेपालको तर्फबाट भर्चुवल सहभागीताका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गरेको मन्त्री गुरुङले बताउनुभयो । त्यस्तै सरकारले गहुँको न्यूनतम समर्थन शुल्क तोकेको छ । मन्त्री गुरुङकाअनुसार गहुँको प्रति क्वीन्टल शुल्क ३ हजार १११ रुपियाँ तोकेको छ । २०७८ सालको सार्वजनिक विदाबारे समयको निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि.को अध्यक्ष पदमा विनोदकुमार जोशीलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकले पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएका सरकार पक्षबाट हत्या गरिएका रामप्रसाद प्रधान र चन्द्र डाङ्गीलाई शहिद घोषणा गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । रेडियो फ्रीक्वेन्सी समितिको बैठकले नयाँ प्रविधि फाइवजी शुरु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

फ्रीक्वेन्सीलाई रणनीतिक योजना बनाएर पारदर्शीरुपमा वितरण प्रणालीको व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । हुलाक सेवालाई आधुनिक बनाउँदै लैजाने र गुगल प्लसपोर्ट प्रविधि लागु गरिएको उहाँले बताउनुभयो । सन् २०२१ को रिपोर्टअनुसार नेपाल खुशी मुलुकमा ८७ औं स्थान प्राप्त गरेको जानकारी दिनुहुँदै दक्षिण एशियाली मुलुकमा नेपाल सबैभन्दा खुशी मुलुक दर्ज भएको मन्त्री गुरुङले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments