Fri. Sep 20th, 2024

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सोमबार भएको वार्ता निष्कर्षविहीन

- नेपाल-खनाल समूहकाे निर्णय : ‘राष्ट्रिय भेला राेक्दैनाैँ’

काठमाडौं, २०७७ चैत २ गते सोमबार

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ-आफ्ना अडानमा रहेपछि वार्ताबाट कुनै निष्कर्ष ननिस्किएको हो ।

यद्यपी वार्ताबारे जानकारी दिंदै नेता रघुजी पन्तले भन्नुभयो, सकारात्मक रुपमा वार्ता भयो , हामीले आआफ्ना अडान राख्यौं, अध्यक्ष कमरेडले त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउने आशा लिएका छौं ।
पत्रकारले कस्तो अडान राख्नुभयो भनेर राखेको जिज्ञासाको जवाफमा उहाँले आफूहरुले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको बताउनुभयो ।
उहाँले अदालतले एमालेलाई सुदृढ बनाउने अबसर दिएको र अब त्य तर्फ लागौं भन्ने कुरा भएको छ । अब सोही रुपमा बार्ता अगाडि बढ्छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान समस्या समाधान आन्तरिक बैठकबाटै समाधान गर्नुको विकल्प नरहेको भन्नुहुँदै मिलेर अघि बढ्न नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई प्रस्ताव गर्नुभएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

“नेताहरुबीचको मतान्तर कायमै छ, तर छलफलबाटै सहमतिमा पुग्ने विषयमा सबैको सहमति छ” उहाँले भन्नुभयो, “नियमित छलफल बस्ने र समस्याको सामधान खोज्नेमा हामी एक ठाउँमा छौं, तर अर्को बैठक कहिले बस्नेबारेमा टुङ्गो लागिसकेको छैन ।”
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ७ गते शनिबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसक्नुभएकाले बैठकमा सकारात्मक छलफल हुनेगरी वातावरण बन्ने विश्वास नेता नेम्वाङले गर्नुभयो । बैठकमा सबै नेताले धारणा राख्नेकाम भएको छ, अर्को बैठकबाट सहमतिको मिलनविन्दुमा पुग्नसकिने उहाँले बताउनुभयो ।

बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरुले फागुन २८ गते बालुवाटारमा भएको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नुपर्ने माग राखेको छन् । नेता भीमबहादुर रावलका अनुसार सो निर्णय खारेज भएमात्र बाँकी छलफल सकारात्मकरुपमा अगाडि बढ्ने माग आफूहरुले राखेको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको आधारमा अगाडि बढ्न नेपाल पक्षका नेताहरुलाई आग्रह गर्नुभएको नेता रावलले जानकारी दिनुभयो ।

छलफलमा आफ्ना कुराहरु राख्ने काम भएको र सबैले सबैको कुरा गम्भीरतापूर्वक सुन्ने काम भएको नेता रघुजी पन्तले बताउनुभयो । बैठकलाई निरन्तर अगाडि बढाउने र सहमतिको प्रयास बैठकबाटै खोज्ने सहमति बनेको नेता पन्तले जानकारी दिनुभयो । नेपाल पक्षले ४ गते बुधबार र ५ गते विहिबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिसकेको छ । सोहीअनुसार ७ गते केन्द्रीय कमिटीको बैठक आव्हान भएका बेला आज भएको बैठकले पार्टीको आन्तरिक विमति कम गर्नेमा सघाउ पुग्ने विश्वास नेताहरुले गर्नुभएको छ । करिब दुई घण्टा भएको छलफलमा नेताहरुको मन माझ्ने काम गरेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता नेम्वाङको सहभागिता थियो । त्यस्तै नेता नेपाल, नेता रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको सहभागिता थियो । फागुन २८ गते बसेको पार्टीको दशौं र ११ औं बैठकले २३ जना माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । त्यसैगरी सात वटै प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोक्ने काम गरेको थियो । गोरखापत्र

Facebook Comments