Fri. Apr 26th, 2024

शुल्क फिर्ता गर्न मेडिकल कलेजको अझै आनाकानी

काठमाडौं, २०७६ मंसिर १४ गते शनिवार ।

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेजले फिर्ता गरेको छैन । बुधबार नै शुल्क फिर्ता गर्ने भनिएको थियो ।

मन्त्रालय र मेडिकल सञ्चालकहरूबीच भएको दुई बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । विद्यार्थीका लागि दुई बुँदे सहमति ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ । चितवन मेडिकल कलेजका छात्र नसिम अख्तरले सहमतिका नाममा विद्यार्थीलाई झुक्याउने र आन्दोलन भाँड्ने काम भएको गुनासो गर्नुभयो । ‘‘खै त, बढी लिएको शुल्क फिर्ता गरेको,’’ उहाँले आक्रोश पोख्दै भन्नुभयो, ‘‘यो सब नाटक हो ।’’
मेडिकल कलेज सञ्चालकहरूले भने रकम फिर्ता नभई समायोजन गर्ने कुरामा सहमति भएको दाबी गर्दै आएका छन् । चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेले एमबीबीएस र बीडीएस प्रथम र द्वितीय ब्याचको शुल्क समायोजन गर्ने कार्य भइरहेको बताउनुभयो ।

‘‘बढी लिएको शुल्क फिर्ता दिने विषयमा सहमति भएको होइन र’’ भन्दा उहाँले फिर्ता नभई बुधबारबाट नै समायोजनको प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।
त्यस्तै, तेस्रो र चौथो ब्याचबाट उठाइएको बढी शुल्क चिकित्सा शिक्षा आयोगको समन्वय र छलफलपछि अर्को वर्ष (एक वर्षपछि) तिर्ने सहमति भएको भनाइ मेडिकल सञ्चालकहरूको छ ।

चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीबाट ४० लाख २३ हजार, बाहिर ४४ लाख ३५ हजार र बीडीएस अध्ययनरत विद्यार्थीका लागि उपत्यकाभित्र २० लाख १९ हजार र बाहिर लाख १९ हजार रुपियाँ शुल्क निर्धारण गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा मेडिकल सञ्चालकहरूले सहमतिअनुसार रकम फिर्ता गर्नुपर्ने बताउनुहुन्छ । ‘‘समायोजन होइन फिर्ता गर्ने कुरामा सहमति भएको हो । सोही अनुसार विद्यार्थीहरूले पनि आन्दोलन फिर्ता गरी शुल्क फिर्ता लिने वातावरण बनाउनुपर्छ,’’ उहाँले स्पष्ट पार्नुभयो । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments