Fri. Sep 20th, 2024

कैलालीको लट्ठाघाट र कालाकुण्डामा बीओपी स्थापना

काठमाडौं, २०७७ माघ २० गते मंगलबार

 कैलालीको कैलारी गाउँपालिका-७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डङ्गौराले उद्घाटन गर्नु भएको छ । कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ । यो संगै कैलालीमा बीओपी सङ्ख्या १४ पुगेको छ । भारतसँग १०१ किलोमिटर खुल्ला सिमाना रहेको यो जिल्लामा अब प्रायः सबै नाकामा सशस्त्र प्रहरी बलको उपस्थिति भएको छ । बीओपीको उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा व्यावसायिक ढङ्गले लाग्न बीओपीमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

‘अहिलेको विषम परिस्थितिमा व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै राज्य र जनताको सुरक्षा गर्ने ठूलो जिम्मेवारी राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा छ’, उहाँले भन्नुभयो । ‘हामी अनुशासित र कर्तव्यनिष्ठ भएर व्यावसायिक रुपमा आफ्नो काममा लाग्नु पर्दछ ।’
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति दीपेन्द्र कुँवर, कैलारी गाउँपालिका-७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी लगायतको उपस्थिति थियो । गोरखापत्र

Facebook Comments