Fri. Sep 20th, 2024

माधव नेपाल भन्नुहुन्छ, “पार्टीको आधिकारिकता कसैलाई नदिने, चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको छ”

काठमाडौं, २०७७ माघ १९ गते सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ ।

सोमबार आफ्नाे समूहकाे केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको उहाँले दाबी गर्नुभयाे । केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले आफूहरू नै आधिकारिक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरू उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ ? केपी ओलीसँग, जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन्, त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दावा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालहरूको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक षड्यन्त्र भइरहेका छन्, पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, चुनाव चिह्न कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूला षड्यन्त्रहरू भइरहेको छ ।’

विगतमा पनि यस्ता षडयन्त्रहरू भइरहेको तर निर्वाचन आयोगले कानुन र यथार्थको आधारमा निर्णय गरेको नजिरहरू रहेकाले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सम्झनुपर्दछ, विगतमा पनि अनेक षड्यन्त्र भएका थिए तर तत्कालीन समयमा निर्वाचन आयोगका पदाधिकारीहरू कुनै दबाबको सामु झुकेनन्, उनीहरूले कानुन हेरे, यथार्थलाई हेरे, कानुन र यथार्थको आधारमा निर्णय गरेका छन् । ती निर्णयहरू नजिरका रूपमा रहेका छन् । ती नजिरहरूलाई बेवास्ता गरिकन अनेक ढङ्गले चल्ने किसिमका प्रयत्न हुन सक्दछन् । त्यो हुनाले हामी होसियार बन्न आवश्यक छ ।’

अध्यक्ष नेपालले नेकपाकाे आधिकारिक नेतृत्व आफूहरूकाे नै रहेको दाबीसमेत गर्नुभएको छ । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उहाँले बताउनुभयो । उज्यालो अनलाईन

Facebook Comments