Sat. Apr 20th, 2024

नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने तयारी

काठमाडौं, २०७६ मंसिर ९ गते सोमबार ।

अर्थ मन्त्रालयले नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। चीनसँग भएको सहमति कार्यान्वयन गराउन अर्थले केन्द्रीय बैंकलाई आइतबार पत्राचार गरेको हो। गत कात्तिक ७ मा नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो। त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ।

चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो। नेपाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो। दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो।

नेपाल र तिब्बतको समय दुई घण्टा फरक पर्दा भन्सारमा काम गर्न असहज भएपछि एउटै समय तय गर्ने समझदारी भएको छ। नेपाल–तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को बैठकले नेपालको बिहानको ८ बजेको समय र तिब्बतको १० बजेको समयलाई एउटै मान्ने गरी समझदारी गरेको हो। अक्टोबर २४ मा भएको समझदारीअनुसार तिब्बततर्फको भन्सार खुल्ने समय बेइजिङको १० बजे र नेपाली ८ बजेलाई एउटै रूपमा लिने सहमति भएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

चाङ्मु तातोपानी भन्सार नाकाबाट आयात तथा निर्यात गर्दा दुवै देशका भन्सारबीच अनलाइन सफ्टवेयर सञ्जाल विकास गर्न नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो। तिब्बतले नेपालको अनुरोधलाई स्वीकार्दै यसलाई दुई देशको कूटनीतिक माध्यमबाट ल्याउन अनुरोध गरेको थियो। यस्तै दुई देशका भन्सारबीच अनलाइन सञ्जालका लागि नेपालले गरेको आग्रहलाई सम्मान गर्दै तिब्बतले यसमा अर्को चरणको बैठकमा विस्तृत छलफल गर्न भनेको छ। यसो भए ल्हासा भन्सारले भन्सार सामान्य प्रशासनमा निवेदन गर्न सक्नेछ। नेपालले चीनको तिब्बतलाई नेपालको सम्बन्धित पक्ष क्वारेन्टाइनसँग सम्बन्धित पशु र वनस्पति क्वारेन्टाइन, खाद्य निरीक्षण, वस्तु निरीक्षणलगायत विषय अर्को चरणको बैठकमा छलफलका लागि सहभागी हुन भनेकामा ल्हासा भन्सारले सहमति जनाएको छ।

नेपालले चीनको तिब्बतलाई जडीबुटीको सूची तयार गर्ने काम भइरहेको, कृषिजन्य र पशुजन्य उत्पादन कूटनीतिक माध्यमबाट चीनको तिब्बतमा पठाउने गरी तयारी गरिरहेको जानकारी दिएको थियो। यसको लागि तिब्बतले क्वारेन्टाइन परीक्षण मापदण्ड तयार गरी नेपाललाई पठाउने बताएको छ।

दुवै पक्षले आयात तथा निर्यात गरिने वस्तुका लागि आवश्यक नियम र कानुन निर्माण गर्नसमेत सहमति जनाएका थिए। चीनको तिब्बतले नेपालका सम्बन्धित क्षेत्रका सरकारी अधिकारीलाई ‘युनिफर्म फाइलिङ मेकानिजम’ चिनियाँ ऐन तथा नियमअनुसार कार्यान्वयनका लागि अनुरोध गरेको थियो। यसलाई नेपाली पक्षले अध्ययन अनुसन्धान गरेर जानकारी दिने बताएको छ।

Facebook Comments