विश्वकपमा मेस्सीको ऐतिहासिक रात
लस एन्जलस । लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाउनुभएको छ । कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गर्दा उहाँ विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता पनि बन्नुभएको छ ।
कन्सास सिटीस्थित ६९ हजार ४५ दर्शक क्षमता भएको एरोहेड स्टेडियममा मङ्गलबार भएको खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या १६ पुर्याउनुभयो । यससँगै उहाँले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गर्नुभएको छ ।
मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो । उहाँले आफ्नो करियरको २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ संस्करणमा सहभागिता जनाउने पहिलो फुटबलरको इतिहास रच्नुभयो । सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा पहिलो विश्वकप खेल्नुभएका मेस्सीले दुई दशक लामो यात्रामा अर्को ऐतिहासिक अध्याय थप्नुभएको हो ।
ग्रुप ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो । मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यो गोलसँगै उहाँको विश्वकप गोल सङ्ख्या १४ पुगेको थियो, जसले उहाँलाई जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरीमा पुर्यायो ।
खेलको ६०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार गोलरक्षकबाट फर्किएपछि मेस्सीले रिबाउन्डलाई सदुपयोग गर्दै दोस्रो गोल गर्नुभयो । यससँगै उहाँले ब्राजिलका महान् स्ट्राइकर रोनाल्डोको १५ गोलको कीर्तिमान पनि बराबरी गर्नुभयो ।
त्यसपछि ७६औँ मिनेटमा उहाँले अर्को आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो र विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बन्नुभयो । चार मिनेटपछि मैदान छाड्दा दर्शकले उभिएर लामो समयसम्म ताली बजाउँदै उहाँलाई सम्मान गरेका थिए ।
मेस्सीले सन् २०२२ को दोहा विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउनुभएको थियो । त्यतिबेला फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरिएको थियो । नियमित समयमा ३-३ को रोमाञ्चक बराबरी भएको उक्त खेलमा फ्रान्सका स्टार किलियन एमबाप्पेले ह्याट्रिक गर्नुभएको थियो ।
यसपटक पनि अर्जेन्टिना र फ्रान्स पुनः फाइनलमा भेटिन सक्ने सम्भावना रहेको चर्चा भइरहेका बेला फ्रान्सले पनि आफ्नो अभियान विजयी ढङ्गले सुरु गरेको छ । सेनेगलविरुद्ध ३-१ को जितमा एमबाप्पेले दुई गोल गर्दै आफ्नो प्रभाव कायम राख्नुभयो ।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले एमबाप्पेको प्रशंसा गर्दै आलोचनाका बीच पनि उहाँ असाधारण खेलाडी रहेको बताउनुभयो । उहाँका अनुसार खेल सधैँ योजनाअनुसार नजाने भए पनि एमबाप्पेसँग कुनै पनि क्षण खेलको परिणाम बदल्ने क्षमता छ ।
सेनेगलविरुद्धको दुई गोलसँगै एमबाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुडलाई पछि पार्नुभएको छ । डेसच्याम्प्सले मैत्रीपूर्ण खेलमा गोल गर्न नसके पनि विश्वकपमा रेकर्ड बनाउनु थप विशेष उपलब्धि भएको उल्लेख गर्नुभयो ।
यता अर्को स्टार स्ट्राइकर एर्लिङ हालान्डले पनि विश्वकप डेब्यूलाई स्मरणीय बनाउनुभएको छ । समूह ‘ए’ अन्तर्गत इराकमाथि नर्वेको ४-१ को जितमा उहाँले दुई गोल गर्नुभयो ।
फक्सबरोमा भएको खेलमा हालान्डले २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभयो । यद्यपि आयमेन हुसेनको हेडरमार्फत इराकले खेल बराबरी गरेको थियो । तर इराकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै हालान्डले पहिलो हाफ सकिनुअघि पुनः गोल गर्नुभयो ।
५१ खेलबाट ५७ अन्तर्राष्ट्रिय गोल गरिसकेका हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले सहज जित निकाल्यो । दोस्रो हाफमा लियो ओस्टिगार्डले अर्को गोल थप्नुभयो भने इराकको आत्मघाती गोलले नर्वेको जित अझ फराकिलो बनायो । सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको नर्वेले यससँगै महत्त्वपूर्ण तीन अङ्क हात पार्यो ।
नर्वेका प्रशिक्षक स्टेल सोल्बाक्केनले हालान्डले ठूलो मञ्चमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउनुभयो । खेलअघि नै उहाँलाई हालान्डबाट विशेष प्रदर्शनको अपेक्षा रहेको र त्यसले वास्तविक रूप लिएको उहाँको भनाइ थियो ।
मङ्गलबारको अन्तिम खेलमा विश्वकपमा पहिलोपटक सहभागी भएको जोर्डनले समूह ‘जे’ अन्तर्गत क्यालिफोर्नियाको सान्ता क्लारामा अस्ट्रियाको सामना गर्नेछ । एएफपी

