२०८३ आश्विन ७, बुधवार

सांसदहरूद्वारा त्रिपुरेश्वरको आत्मदाह घटनालाई गम्भीर रूपमा लिन आग्रह

       
  • दुई महिनाको अन्तरालमा चालकले आत्मदाह गरेका घटनाप्रति सांसदहरूको सरकारको ध्यानाकर्षण ।
  • ट्राफिक प्रहरी र चालकबीचको विवादको कारण खोजी गर्न माग ।
  • ट्राफिक प्रहरीको व्यवहार सुधार तथा शरीरमा क्यामेरा अनिवार्य गर्न सुझाव ।

काठमाण्डू । सांसदहरूले काठमाण्डूको त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको घटनालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरूले सवारीचालक र ट्राफिक प्रहरीबीच हुने विवादका कारण चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोजी गर्नुपर्ने बताउनुभएको हो ।

सांसद युवराज दुलालले त्रिपुरेश्वर चोकमा सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्नुपरेको घटना दुःखद् भएको बताउँदै घटनाको कारण सरकारले गम्भीर रूपमा खोजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले एउटै स्थानमा दुई महिनाको अन्तरालमा उस्तै प्रकृतिको घटना दोहोरिएकाले ट्राफिक प्रहरीसँगको विवादपछि चालकले आत्मदाहजस्तो गम्भीर कदम किन रोज्नुपरेको र यस्ता घटना रोक्न सरकारी निकायले पर्याप्त सावधानी किन अपनाउन सकेन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा भएका दुई घटनाले प्रहरीको काम गर्ने शैली र चालकको मनोदशाबारे गम्भीर हुनुपर्ने देखाएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले यात्रु तथा चालकसँग गर्ने व्यवहार र शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो ।

सांसद आशिका तामाङले ट्राफिक प्रहरीले अनिवार्य रूपमा शरीरमा क्यामेरा जडान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद वलावती शर्माले त्रिपुरेश्वर चोकमा २५ वर्षीय युवाले बसभित्र आगो लगाएर मृत्युवरण गर्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद आरेन राईले ‘जेनजी’ आन्दोलनपछि युवामा नैराश्यता बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरको घटनालाई सामान्य रूपमा नहेरी गम्भीर घटनाका रूपमा लिनुपर्ने बताउँदै तत्काल गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सांसद आशिष गजुरेलले सडक प्रयोगकर्ता र चालकमा पर्ने मनोवैज्ञानिक असरका विषयमा विदेशी मुलुकमा ठूलो लगानी हुने गरेको भए पनि नेपालमा त्यस्तो व्यवस्था नहुँदा विभिन्न समस्या आउने गरेको बताउनुभयो ।

बैठकमा सांसद रमेशकुमार मल्लले सल्यानमा एक महिनाको अवधिमा स्क्रब टाइफसका कारण सात जनाको मृत्यु भएको र आवश्यक स्वास्थ्य किटको समेत अभाव रहेकाले तत्काल आपूर्ति गर्न सरकारसँग माग गर्नुभयो । सांसद सोम शर्माले बाग्लुङमा फैलिएको डेङ्गुको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

Facebook Comments