Wed. Apr 24th, 2024

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था आईएसओ चिन्ह प्राप्त पहिलो सहकारी बन्ने तयारीमा ।

काठमाडौं, २०७६ मंसिर ९ गते सोमबार ।

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आईएसओ चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बन्ने तयारीमा जुटेको छ । राजधानीको विशाल बजारमा आईतबार साँझ सो सहकारीले नयाँ सदस्यहरुको स्वागत, ISO अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा सो जानकारी गराएको हो ।


विश्वमा तिब्र गतिमा बढीरहेको सूचना प्रविधिको विकासले संस्थालाई सूचना प्रविधि मैत्री बनाउदै सदस्यहरुलाई विभिन्न किसिमका सुविधा प्रदान गर्ने उद्धेश्य अनुरुप चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थालाई सोही अनुरुप विकास गर्नु पर्ने खाँचो देखिएकोले आईएसओ चिन्ह प्राप्त गर्ने दू्रत तयारीमा लागेको अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


२९ जना सदस्यहरुबाट सुरुवात भएको सहकारी हाल १ हजार ३ सय सदस्य मा पुग्नु गौरवको कुरो भएको बताउदै अध्यक्ष श्रेष्ठले चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था आफ्नो काम गर्ने शैलीलाई समयानुकुल सुधार गर्दै तथा देखिएका कमिकमजोरीहरुलाई हटाउदै अघि बढिरहेको परिप्रेक्षमा नयाँ नयाँ प्रविधिहरु समेत भित्रियाउँदै अघि बढ्ने बताउनु भयो ।

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वेभसाईट तथा मोवाइल बैकिङ्गको सुभारम्भ गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड का अध्यक्ष के.वि.उप्रेतीले चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाकालदेखि नै लोकप्रिय सहकारीको रुपमा परिचय दिन सफल भएको बताउनु भयो । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले गर्ने प्रत्येक कार्यमा साथ दिन राष्ट्रिय सहकारी बैंक तयार रहेको पनि अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । नयाँ प्रविधिको जमानामा नयाँ ढंगबाट अघि बढ्नुको विकल्प नरहेको भन्दै अध्यक्ष उप्रेतीले चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको विश्वसनीयतालाई हेर्दै पैसा, प्रविधि र क्षमताको आधारमा मुलुककै अग्रणी संस्थाको रुपमा रहेको राष्ट्रिय सहकारी बैंक जस्तो सुकै सहयोग गर्न पनि तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अध्यक्ष उप्रेतीले सहकारीको स्तरवृद्धिमा उत्साहपूर्वक लाग्न व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका आईएसओ परामर्शदाता उत्तम झाले अन्तराष्ट्रिय रुपमा प्रयोग गरिन्दै आएको आईएसओ प्रणालीमा जाने ऐतिहासिक निर्णयको लागि चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नुभयो । आईएसओ का बारेमा अझ पनि स्पष्ट रुपमा धेरैले जानकारी प्राप्त गर्न बाँकि रहेको भन्दै झाले उत्पादन र सेवा दुवैमा आईएसओ प्राप्त गर्न सकिने बताउनु भयो । आईएसओ प्रणालीको गुणस्तर हो भन्ने कुरो बुझ्न आग्रह गर्दै वहाँले सामानको गुणस्तरलाई पनि आईएसओ हो भन्ने गल्ति नगर्न अनुरोध गर्नुभयो । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यथासक्य चाँडो व्यवस्थापनको प्रणालीको आइएसओ लिने तयारी गरिरहेको र त्यसले संस्थालाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै इन्फो डेभलपर्स प्रा.लि.का व्यवसाय विकास प्रवन्धक सुरेश कंसाकारले विश्वमा लोकप्रीय मोवाइल बैकिङ्गको बारेमा जानकारी दिनुहुँदै एउटा सानो एप्लिकेसनको माध्यमबाट सहकारीमा रहेको आफ्नो मौजाद रकम, टेलीफोन तथा जुनसुकै कम्पनीको मोवाइलको भुक्तानी, खानेपानी र विद्यूत विलको भुक्तानी लगायतका अन्य धेरै क्षेत्रमा मोवाइल बैकिङ्गले सहयोग गर्ने बताउनु भयो । साथै समयको वचत र अनावश्यक झन्झटबाट मुक्त हुन पनि सहकारीले मोवाइल बैकिङ्ग सञ्चालन गर्न जोडदिनु भयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड न्यूरोड शाखाका शाखा प्रबन्धक केदार उप्रेतीले संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ गरेको अवसरमा चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थालाई शुभकामना व्यक्त गर्नुभयो । साथै उप्रेतीले सहकारीलाई प्रविधि मैत्री कसरी बनाउने भन्ने उद्देश्य अनुरुप चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमहरु ल्याएकोमा प्रसंशा व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सूचना प्रविधि विभाग प्रमुख नविन कार्कीले सहकारीले सदस्य बनाउदै लैजाने तर अभिमुखिकरण नगर्ने विगतको प्रचलनलाई तोड्दै चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई अभिमुखिकरण गरिरहेकोम उच्च मूल्याङ्कन गर्नुभयो ।

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य दिनुहुँदै सदस्यहरुको सेवा र सुविधाको लागि आफ्नो सहकारीले विभिन्न कार्यक्रमहरु ल्याउने गरेको र सूचना तथा प्रविधि मैत्री संस्थाको रुपमा स्थापीत हुन आइएसओ अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति तथा चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवम् शिक्षा उपसमिति संयोजक रमेश कुमार श्रेष्ठले सहकारीका सात सिद्धान्त मध्ये सहकारी शिक्षा, तालिम र सुझावलाई मध्यनजर गर्दै निरन्तर रुपमा यस किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको जानकारी दिनुभयो । साथै श्रेष्ठले समय समयमा संस्थाका सदस्यहरुले उपलब्ध गराउदैै आउनु भएका गहन सल्लाह र सुझावको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अधिकृत चण्डिका थापाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहकारीका नयाँ तथा पुराना सदस्यहरु, सञ्चालक समितिका पदाधिकारी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

Facebook Comments