Sun. Apr 28th, 2024

नेपालद्वारा सीमा समस्या समाधान गर्न भारतलाई वार्ताको प्रस्ताव

काठमाडौं, २०७६ मंसिर ८ गते आईतबार ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा भुभाग समेटिएको विरोध गर्दै नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ। यसै साता पठाइएको पत्रमा भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालको असन्तुष्टि पोखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

“औपचारिक रूपमा पत्र पठाएका छौँ, भारतको जवाफको प्रतीक्षा गरिरहेका छौँ”, परराष्ट्र सचिव शंकरदास बैरागीले शनिबार भन्नुभयो, “हाम्रो तर्फबाट ‘कम्युनिकेसन’ भइरहेको छ।” उहाँले भारतले मिचेको लिम्पियाधुरा क्षेत्रसम्मकै भूभाग नेपालको भएको प्रष्ट धारणा सरकारले पत्रमार्फत यसै साता पठाएको जानकारी दिनुभयो। नेपालले सीमा समस्या समाधान गर्न उच्च स्तरीय वार्ताको लागि समेत पत्रमार्फत भारतलाई प्रस्ताव गरेको छ।

“नेपालले पटक पटक भनिरेहेको छ”, परराष्ट्र सचिव बैरागीले थप्नुभयो, “भारतको जवाफ यसपाला आउला भनेरै पर्खिरहेका छौँ।” भारतको जवाफ आउनासाथै वार्ता गर्न नेपाल तयारी अवस्थामा बसेको जानकारी उहाँले दिनुभयो।

भारतले गत कात्तिक १६ गते नेपालको भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको ३७२ वर्गकिलोमिटरभन्दा बढी क्षेत्र अतिक्रमण गर्दै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त घटनाको चौतर्फी विरोध हुँदा भारतले आफूले पहिलेको नक्सामा नेपालको भूभागतर्फ कुनै फेरबदल नगरेको प्रतिक्रिया दिएको थियो।

त्यसअघि नेपालले लिम्पियाधुरा सहितको क्षेत्र नेपालको भएको नेपाल सरकारुले प्रष्ट्याएको थियो। पररराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै त्यसमा कुनै समस्या देखिए कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने जनाएको थियो। तर भारतलाई सिधै नेपालको तर्फबाट पत्र पठाएर सोधनी गरिएको थिएन्।

अघिल्लो नक्सा सार्वजनिक गरेको तीनसातापछि भारतले आफ्नो भागमा पारेको नेपालको सिमाना काली नदीको नाम नै मेटेर अर्को नक्सा सार्वजनिक गरीसकेको छ। जसका विरुद्धमा चौतर्फी बिरोध सुरु भएको छ। प्रबुद्ध समूहले समेत देशको सिमाना जोगाउन सचेत हुन आव्हान गरेको छ।

Facebook Comments