Mon. May 20th, 2024

कृषि मन्त्री भुसाल भन्नुहुन्छ : परम्परागत कृषिलाई तोड्नु नै पहिलो प्राथमिकताः

भैरहवा, २०७६ मंसिर ७ गते शनिबार ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई तोड्नु नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ । कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको र यसका लागि परम्परागत कृषिप्रणाली तोड्नैपर्ने उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले शनिबार गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा बोल्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा कृषि क्षेत्रसँग जोडिएकोले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने उहाँको भनाइ छ ।
मुलुकको कृषि प्रणाली परम्परागत रहेकाले यसलाई तोड्नैपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो–“परम्परागत र निर्वाहमुखी कृषिप्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।”

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउनुभएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ नै हुने बताउनुभयो । “अहिले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीपूर्वक कार्यान्वन गर्नेतर्फ नै मेरो ध्यान जान्छ, तर आगामी वर्षको नीति कार्यक्रम बनाउने बेला कृषि क्रान्तिलाई बल पुग्ने गरी योजना बनाउने प्रयास रहने छ”–उहाँले भन्नुभयो ।

विकास सजिलो कुरा नभएको तर यो सम्भव रहेको भन्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो । जिम्मेवारी निर्वाह गरिरहँदा आफू कुनै लोभ र डरबाट भने प्रभावित नहुने उहाँले बताउनुभयो ।

उहाँले धेरै ठूला कुरा गर्नुको अर्थ नहुने भएकोले व्यवहारिक पक्ष हेर्नुपर्ने पनि बताउनुभयो । मुलुकमा गुजारा श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै मुख्य कुरा रहेको उहाँको भनाइ छ । उहाँले कृषि मन्त्रालय काम गर्नको लागि उपयुक्त मन्त्रालय भए पनि यसमा ऐतिहासिक समस्या रहेको पनि बताउनुभयो ।

“प्रधानमन्त्रीले मलाई कृषि मन्त्रालय अफर गर्नुभयो र कृषि हाम्रो प्राथमिक क्षेत्र भएकोले म मन्त्री बने, कृषिको समस्या समाधान गर्नुपर्छ”– भुसालले भन्नुभयो । टुक्रिएको भूमि र भूस्वामित्व भएको ठाउँमा खास गरी सहकारीताको धेरै महत्व रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेनुभएका भुसालले परम्परागत गुजारामा चलेको कृषि र श्रमलाई उद्यममा ल्याउन र बढी प्रभावकारी बनाउन प्रयत्न गर्ने बताउनुभयो ।

मल विउको समस्या जतिसक्दो छिटो प्रक्रिया बनाएर समाधान गर्न सकिने भएकोले यसबारे एक महिना नसोध्न पनि उहाँले आग्रह गर्नुभयो । यसबारे आफुले प्रधानमन्त्रीसँग कुरा गर्न नपाएकोले कम्तीमा एक महिना नसोध्न उहाँले आग्रह गर्नुभयो । भारतले नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेकाबारे पत्रकारको जिज्ञासामा भुसालले कुनै पनि राष्ट्रले बहुपक्षीय विवाद युद्धले समाधान गर्न नसक्ने बताउनुभयो ।

Facebook Comments