Sat. Jul 27th, 2024

राजधानीमा आयोजित ऊर्जा सम्मेलन सम्पन्न, क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा नेपाल

काठमाडौं, २०७६ मंसिर ७ गते शनिबार ।

विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार र शुक्रबार आयोजना गरेको दुई दिने ऊर्जा सम्मेलनमा २१ देशका ७६४ सरोकारवालाको सहभागिता र ७९ वक्ता समेतले नेपालको जलविद्युत् दक्षिण एसियाली मुलुकका लागि प्राकृतिक ब्याट्री हाउसका रूपमा स्वीकार गरेका छन् । सम्मेलनका सहभागीले नेपालको जलविद्युत् बङ्गलादेश, भुटान, भारत र नेपालबीच नवीकरणीय ऊर्जाको निर्बाध पहुँच विस्तार गर्न अपरिहार्य रहेको स्वीकार गर्दै उत्पादनलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् । नेपालको विद्युत् आन्तरिक तथा क्षेत्रीय खपतका लागि बजारको कुनै समस्या नरहेको निष्कर्ष पनि सम्मेलनले निकालेको छ ।

सम्मेलनले विगतमा विद्युत् अभाव बेहोरेको नेपाल अब विद्युत् निर्यात मुलुक बन्ने गर्वपूर्ण अवस्थामा प्रवेश गर्न लागेको र यहाँको क्षेत्रीय विद्युत् आपूर्तिको नियमितताका लागि अत्यावश्यक रहेको ठहर गरेको छ । क्षेत्रीय बजारमा विद्युत् पहुँचका लागि प्रसारण लाइन निर्माण, तिनको अन्तरसन्जाल विस्तारलाई अझै प्रवद्र्धन गर्न सके ठूलो बजार हिस्सा प्राप्त हुने निष्कर्ष निकालेको छ । इप्पानका महासचिव आशिष गर्गले भन्नुभयो, “बीबीआईन क्षेत्रमा नियमित विद्युत् आपूर्ति र गुणस्तरीयता प्रदान गर्न नेपालको विद्युत् अत्यावश्यक देखिएको महसुस सम्मेलनले गराएको छ । उत्पादन बढाउँदै लग्ने र नेपाल, भारत, बङ्गलादेश र भुटानका विद्युत् नीति तथा प्रसारण लाइनमा सामञ्जस्यता ल्याउन आवश्यक देखियो ।”

सम्मेलनले जलविद्युत् लगानी विस्तारका लागि विदेशी मुद्रा अवमूल्यनको खतरा व्यवस्थापन, स्थानीय पुँजी परिचालन, लगानीको वातावरण सुधार तथा सहज व्यवसाय वातावरण निर्माणमा अझै सुधार गर्नुपर्ने देखिएको औँल्याएको छ ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नवनियु्क्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्था देखिए पनि बढ्दो आन्तरिक खपत र चीन, भारत तथा बङ्गलादेशको विद्युत् आवश्यकतालाई हेरेर ठूला जलविद्युत् सञ्चालन गर्न आवश्यक देखिएको औँल्याउनुभयो । छिमेकी मुलुक तथा अन्य लगानीकर्ताको सहयोगमा हामी हजार मेगावाट क्षमताका विद्युत् आयोजना निर्माणमा अतुर छाँै, कथाले यही मागेको छ, उहाँले भन्नुभयो ।

ऊर्जामा लगानी गर्न अर्थमन्त्रीको आह्वान
ऊर्जा सम्मेलनको दोस्रो दिन ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैङ्क तथा अन्तर्राष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारबाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लैजान समस्या नभएको उहाँले आश्वस्त पार्नुभएको थियो । “म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ,” उहाँले भन्नुभयो ।

नेपालमा ऊर्जाको बजार छैन भन्ने भ्रमलाई चिर्न सम्मेलन सफल रहेको उहाँको भनाइ थियो । “आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दर बढाएर एक हजार पाँच सय युनिट बनाउने योजना सरकारको छ,” उहाँले भन्नुभयो । उहाँले नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न क्राउड सोर्स फाइनान्सिङको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा एसियाली पूर्वाधार विकास बैङ्कका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा सम्मेलनकै क्रममा नेपालको विद्युत् विकासका लागि विभिन्न छवटा समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन हिजो (बिहीबार) दुईवटा र दोस्रो दिन शुक्रबार एफएमओ र नेपाल बैङ्कर्स सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै गरी अन्तर्राष्ट्रिय वित्त निगम –आईएफसी) र इप्पानबीच जलविद्युत् क्षेत्रमा लैङ्गिक सन्तुलन कायम गर्ने समझदारी भएको छ । त्यस्तै नेपालको क्षेत्रीय बजार पहिचानका लागि ज्ञान साझेदारी गर्न इप्पान र बङ्गलादेशको डेलोट्टीबीच सम्झौतासमेत भएको छ ।

बिहीबार भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी, इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)बीच पनि समझदारी भएको थियो ।

अरुण तेस्रो तोकिएको समयमै
भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । प्रवद्र्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई सम्बोधन गर्दै पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । धिमानले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बतानुभयो । “अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै भेटाउने छौँ,” उहाँले भन्नुभयो, “यो आयोजना भारत र नेपाल दुवैका लागि अति महìवपूर्ण भएकाले पनि तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न गर्नेछौँ ।’’

माथिल्लो कर्णालीको पीपीए छिट्टै
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी जीएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित पाँच सय मेगावाट जलविद्युत् खरिद गर्ने सहमति भएको जानकारी दिनुभयो । “बङ्गलादेशको मन्त्रिपरिषद् बैठकले जीएमआरले उत्पादन गरेको बिजुलीको पीपीए दर निर्धारण गर्ने सहमति दिइसकेको छ,’’ उहाँले भन्नुभयो, “अब बङ्गलादेशको पर्चेज कमिटीले आवश्यक निर्णय गरेसँगै पीपीए गर्ने बाटो खुल्नेछ ।”

सम्मेलनका क्रममा नेपालको विद्युत्सँग सरोकार राख्ने विभिन्न ८७ वटा बीटूबी मिटिङ पनि भएका थिए । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments