Sat. Jul 27th, 2024

ओली समूहको केन्द्रीय समिति बैठकमा बादलको सम्बोधन : अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्छ

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहनु भएका नेता बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्नेमा जोड दिनु भयो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिँदै बादलले यस्तो बताउनु भएको हो। ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’, बादलले भन्नु भयो ।

नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताउनु भयो। उहाँले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भन्नु भयो ।, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’

अन्नपूर्ण पोष्टका अनुसार बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाउनु भएको छ। उहाँले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताउनु भएको छ ।

उहााले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई दृढतापूर्वक अगाडि बढाउने विश्वासमेत व्यक्त गर्नु भएको छ ।

‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भन्नु भएको छ, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ।’

उहाँले कम्युनिस्ट आन्दोलनको एकता र मुलुकको स्थायित्वका लागि भूमिका निर्वाह गरिरहेको नेतृत्वलाई साथ दिन बैठकमा उपस्थित भएको उल्लेख गर्नुभयो ।

Facebook Comments