Sat. Jul 27th, 2024

कांग्रेस केन्द्रीय समितिमा संसद पुनस्थापनाका लागि आन्दोलनको पक्ष र विपक्षमा मत

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

संसद विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाका सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताउनु भयो ।

‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई घाइते बनाइएको छ । यसलाई कांग्रेसले स्वीकार गर्नु हुँदैन । यो कदमको विपक्षमा रहेका सबैलाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ,’ बैठकमा पौडेलको भनाई उद्धृत गर्दै ती नेताले भने । पौडेलले कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने बताएका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य एनपी साउदले सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने बताउनु भएको थियो । सभापति शेरबहादुर देउवानिकट साउदले अहिले बहुमत कार्यकर्ताहरु चुनावको पक्षमा रहेको भन्दै चुनावमा जानुपर्ने बताउनु भएको थियो । उहाँले संसद पुनस्थापनाको माग लिएर सडक प्रदर्शनमा जान नहुने बताउनु भयो ।

मंगलबारको बैठकमा जम्मा चारजनाले बोल्नु भएको थियो। बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताउनु भएको थियो । उहाँले अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने बताउनु भयो ।

अर्का केन्द्रीय सदस्य महेश आचार्यले सडक संघर्ष गर्नुपर्ने बताउनु भएको थियो । तर, उहाँले यसमा नेकपाको दाहाल(नेपाल समूहसँग सहकार्य गर्न नहुने बताउनु भएको थियो ।  ‘संसद विघटन उनीहरुको आन्तरिक कलहले गर्दा भएको हो । त्यसैले नेकपालाई नै साथ लिएर संघर्ष गर्नुको अर्थ छैन । कांग्रेसले एक्लै संघर्ष गर्नुपर्छ,’ आचार्यको भनाई थियो । कान्तिपुर अनलाईनबाट

Facebook Comments