Wed. Oct 9th, 2024

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

काठमाडौं, २०७६ मंसिर ४ गते बुधबार ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री नै कायम रहनु हुने भएको छ । अनलाईन खवरका अनुसार बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनुहुनेछ ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनु भयो । श्रेष्ठले भन्नु भयो, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’

उहाँका अनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नुहुनेछ भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।

सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिनु भएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गर्नु भएको थियो । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो । तर ओलीले सहमति जनाउनु भएको थिएन ।

बुधबार विहान भएको भेटमा भने सहमति जुट्यो । लगतै दुई अध्यक्ष राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुग्नु भएको थियो। त्यसपछि बसेको सचिवालय बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटबारे औपचारिक निर्णय नै गरेको छ ।

Facebook Comments