Sun. Jun 2nd, 2024

चीन-अमेरिका सहयोगले जलवायु परिवर्तनको सामना गर्न विश्वलाई नेतृत्व गर्नसक्छ: महासचिव गुटेरेस

काठमाडौं, २०७७ मंसिर २७ गते शनिबार

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले चीन-अमेरिका सहयोगले जलवायु परिवर्तनको सामना गर्न विश्वलाई नेतृत्व गर्नसक्ने बताउनु भएको छ ।

महासचिव गुटेरेसले चाईना ग्लोबल टेलिभिजन नेटवर्क(CGTN) लाई हालै एउटा अन्तरवार्ता दिनुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।अन्तर्वार्तामा महासचिव गुटेरेसले जलवायु परिवर्तनको सामना गर्ने चीनको नेतृत्वदायी भूमिका र त्यसको सामना गर्ने चीन-अमेरिका सहयोगबारे खुलेर चर्चा गर्नुभएको छ ।

सीआरआईका अनुसार गुटेरेसले पेरिस सम्झौतामा धेरै मुलुकले जलवायु परिवर्तनको सामना गर्ने प्रतिवद्धता जनाए पनि कुनै पनि मुलुकले सच्चा ढंगले व्यवहारमा नउतारेको गुनासो समेत गर्नुभयो। उहाँले गरिब मुलुकका गरिब मानिसले जलवायु परिवर्तनको कारण महंगो मूल्य तिरिरहेको भन्दै जलवायु परिवर्तनबाट हुने असरको सामना गर्ने गतिविधिको लागि आवश्यक कदम चाल्न विभिन्न मुलुकहरूसमक्ष आग्रह पनि गर्नुभएको छ ।

महासचिव गुटेरेसले विश्वको जलवायु परिवर्तनको सामना गर्दा चीनले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै पेरिस सम्झौतालाई साकार तुल्याउन पनि अहं भूमिका निर्वाह गरेको बताउनु भयो । चीनले अन्तर्राष्ट्रिय सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गरी बेल्ट एन्ड रोड परियोजना मार्फत जलवायु परिवर्तनको सामना गर्ने समूहमा अरू विकासोन्मुख मुलुकलाई आकर्षित गर्नसक्ने आशा आफूले लिएको पनि उहाँले बताउनुभयो।

साथै गुटेरेसले चीन र अमेरिकाले अरू मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग जलवायु परिवर्तनको सामना गर्नसक्ने आशा आफूले लिएको बताउनु भयो ।

Facebook Comments