Tue. May 7th, 2024

नेपाली भूमिमा मन्दिर बनाउन भारतीय सुरक्षाकर्मीको रोक

कञ्चनपुर , २०७६ मंसिर ४ गते बुधबार ।

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

आफ्नो भूमिमा बनाउन लागेको कल्भर्ट भत्काउन थालेपछि स्थानीयले विरोध गरे। स्थानीयले विरोध गर्दा भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपाली युवक गोविन्द गौतमको हत्या गरे। भारतीय सुरक्षाकर्मीको गोली नै चलाएपछि सो कल्र्भट निर्माण हालसम्म पूरा हुन सकेको छैन। ‘आफ्नो भूभागमा कच्ची कल्भर्ट बनाउँदा पनि भारतीय सुरक्षाकर्मीले बनाउन दिएनन्, बनाउन लागेको पनि भत्काइदिए,’ पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले भने, ‘नाहकमा नेपाली भूमिमा विकासको पूर्वाधार बनाउँदा निर्दोष युवकको हत्या भयो।’

भारतीय सुरक्षाकर्मीले बनाउन नदिएपछि त्यो कल्भर्ट निर्माण अलपत्रमात्र परेको छैन, त्यो घटनापछि स्थानीयले त्यो बाटो हुँदै आवतजावत गर्न नै बन्द गरेका छन्। ठाउँठाउँमा नेपाली भूभाग अतिक्रमण गरेको भारत पक्षले सीमावरै रहेको नेपाली भूभागमा पनि विकासका पूर्वाधार बनाउन दिएको छैन। भारतीय सुरक्षाकर्मीले आनन्द बजारमा मात्र नभई वडा नम्बर ६, ८ र ९ मा पर्ने अन्य नेपाली भूभागमा समेत विकासका पूर्वाधार बनाउन दिएका छैनन्। आफ्नो भूभागमा विकासका पूर्वाधार बनाउन नपाउँदा धेरै समस्या भएको नगरप्रमुख थापा बताउँछन्। ‘भारतीय पक्षले बाटो, कल्भर्ट, काँडेतारलगायत संरचना बनाउन नदिँदा काम गर्न नै धैरै समस्या छ,’ उनी भन्छन्, ‘भारतले अवरोध गर्दा स्थानीय विकासबाट वञ्चित हुनुपरेको छ।’

खुला सिमाना रहेको पुनर्वासको सीमाबाट मानव बेचबिखन, चोरी तस्करी हुने गरेकोमा सीमावारि आफ्नो भूभागमा काँडेतार गरेर निश्चित ठाउँबाट मात्र आहोरदोहोर गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ। भारतले सीमावारि कुनै पूर्वाधार बनाउन नदिँदा त्यो योजना पनि कार्यान्वयन गर्न नपाएको उहाँले बताउनु भयो।

कञ्चनपुरको पुनर्वासमा धेरै भूभागमा सीमा विवाद भए पनि सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति पातलो हुँदा भारतले यसप्रकारको हस्तक्षेप गर्ने गरेको स्थानीय बताउँछन्। भारतीयहरूले कतै सीमास्तम्भ गायब गरेर, कतै सीमास्तम्भ सारेर नेपाली भूभाग अतिक्रमण गरेको उनीहरूको भनाइ छ। आनन्द बजारमै रहेको २०० नम्बरको सीमास्तम्भ हराएकोले भारतले नेपाली भूमि अतिक्रमण गरेको छ।

‘सीमाको लागि आवाज उठाउँदा निहत्था मेरा पतिलाई गोली हानेर हत्या गरियो,’ गोविन्द गौतमकी पत्नी सुशीला गौतमले भन्नुभयो, ‘ज्यान गुमाएर पनि हामी सीमाका बासिन्दाका समस्या उस्तै छन्।’ पतिको हत्या गर्नेलाई हालसम्म कुनै कारबाही पनि नभएको र सीमामा भारतीय पक्षको ज्यादती पनि उस्तै रहेकाले मन शान्त हुन नसकेको उहाँको भनाइ छ।

२०० नम्बरको सीमास्तम्भ हराएकोले भारतले नेपाल भूमि मिच्दै ल्याएको स्थानीय मानबहादुर सुनारले बताउनुभयो। ‘पूर्खाहरूले गाईगोरु चराएको नेपाली भूमि अहिले भारतले मिचिसकेको र २०१ नम्बरको सीमास्तम्भ पनि सारेर नेपालतर्फ निके वर गाडेको उहाँको भनाइ छ। ‘कल्भर्ट बनाउन लागेको ठाउँभन्दा पाँच सय मिटर परसम्म हाम्रो भूमि थियो, हाम्रा बुबाहरूले गाईगोरु चराएका हुन्’ उहाँले भन्नुभयो, ‘अहिले सीमा मिचेर वर ल्याइपुर्याएका छन्।’ सीमा मिचिएको र सीमास्तम्भ सारेको जानकारी गराइए पनि नेपाल सरकारका तर्फबाट त्यसको प्रतिकार वा नेपाली सीमा रक्षा गर्न विशेष पहल नभएको स्थानीय बताउँछन्। नागरिक न्यूज अनलाईनबाट ।

Facebook Comments