Wed. Apr 22nd, 2026

चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न   

       

काठमाण्डू । नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी आज काठमाण्डूमा सम्पन्न भएको छ ।

रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको चलचित्र प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा भएको विशेष प्रदर्शनीमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुँदै सभामुख घिमिरेले चलचित्र ‘नालापानी’ले इतिहासलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताउँनुहुँदै त्यो समयमा राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि गरिएको योगदानलाई गहिरो रूपमा महसुस गर्न सकिने अनुभव व्यक्त गर्नुभयो । “चलचित्रले राष्ट्रप्रेमले भरिएको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ । सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु”, सभामुख घिमिरे भन्नुभयो ।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष दाहालले इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुलाई समेटेर राष्ट्रप्रेमले भरिएको चलचित्र बनेको बताउनुभयो । उहाँले यस्ता चलचित्रको विकासमा सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्रप्रेमलाई झकझक्याउन सघाउने बनेको बताउनुभयो । कालाकार श्रेष्ठ भन्नुहुन्छ, “नालापानी युद्धको समग्र पक्ष समेटिएको चलचित्र बनेको रहेछ । यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन अत्यन्तै उपयोगी हुनेछ ।” त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको बताउनुभयो । “गोरखाली भनेर शिर उँचो पार्ने त्यो बेलाको बहादुरीलाई चलचित्रले जीवन्त बनाएको छ”, नेपालले भन्नुभयो ।

निर्देशक अधिकारीका अनुसार चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्रप्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्यदृश्य अभिव्यक्ति हो । राससका अनुसार चलचित्रमा महिला, बालबालिका र समाजको सामूहिक प्रतिरोधसमेत कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले चलचित्रको विषयवस्तु, निर्देशन, छायाङ्कन र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

Facebook Comments