Sun. Apr 26th, 2026

यातायातमन्त्री दाहालसँग चीनका राजदूत छन् सोङ को शिष्टाचार भेट   

छन सोङ्ग, नेपालका लागि चिनियाँ राजदूत

       

काठमाण्डू ।  नेपालका लागि चीनका राजदूत छन् सोङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

आज (साउन १ गते) मन्त्रालयमा भएको सो भेटमा बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणमा चीनले चासो देखाएको छ । चीनले सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउने प्रतिबद्धता जनाएको छ ।

यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित अन्य आयोजना टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत छन् सोङ ले काठमाण्डू-चक्रपथ दोस्रो खण्ड विस्तार सुरु गर्ने बताउनुभयो ।

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वाससमेत मन्त्री दाहालले व्यक्त गर्नुभयो ।

Facebook Comments