Sun. May 31st, 2026

वरिष्ठ साहित्यकार मञ्जुललाई रिमाल पुरस्कार प्रदान

       

भिओके समाचार/काठमाण्डू, २०८२ असार २२ गते आईतबार । वरिष्ठ कवि, गायक तथा निबन्धकार मेघराज शर्मा मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कारद्वारा सम्मान गरिएको छ । साहित्य सदन नेपालद्वारा गोपालप्रसाद रिमालको १०८ अ‍ौँ जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रममा मञ्जुललाई आज सो पुरस्कार प्रदान गरिएको हो ।

सदनको आफ्नै प्रेक्षालयमा सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मञ्जुललाई प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री साहित्यकार रघुजी पन्तले सम्मान पत्र, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मा।सन्तोषकुमार चालिसेले दोसल्ला, पूर्व कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले फूलमाला, सभाध्यक्ष डा. हेमनाथ पौडेलले ३० हजार नगद राशि प्रदान गरेर सम्मान गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व मञ्जुलकी जीवनसंगिनी सुस्मिता नेपाललाई पूर्व मन्त्री शान्ता मानवीले फूलमाला लगाएर सम्मान गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि पन्तले मेघराज मन्जुलसँग आफूले लामो समय सहकार्य गरेको र उहाँले नेपाली गीतसङ्गीत र साहित्यका माध्यमबाट नेपाली समाजमा जागरण ल्याउने कार्यमा उल्लेखनीय योगदान गर्नुभएको बताउँदै मञ्जुल जस्तो प्रतिभा छनोट गरेर रिमालका नामको पुरस्कार प्रदान गरेकोमा साहित्य सदन नेपाललाई धन्यवाद दिदै पुरस्कृत व्यक्तित्व मञ्जुललाई बधाई दिनुभयो ।

विशेष अतिथि सन्तोषकुमार चालिसेले साहित्यकार, कलाकार राज्यका मार्गदर्शक भएको बताउनुभयो । उनीहरूको समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको हुनाले नै राज्यले स्रष्टाहरूलाई सम्मान गर्न जान्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै साहित्य सदन नेपालका संस्थापक सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्राद उप्रेतीले पुरस्कृत व्यक्तित्व मञ्जुलको वैचारिक योगदानका बारेमा प्रकाश पार्दै साहित्य सदनको वर्तमान नेतृत्वले गरिरहेका गतिविधिप्रति प्रशन्नता व्यक्त गर्नुभयो । पूर्व मन्त्री शान्ता मानवी, रिमालका छोरा मदन रिमाल र सदनका कोषाध्यक्ष तथा व्यक्तित्व छनोट समितिका संयोजक वसन्त रिजालले बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रिमालका बारेमा सदनका उपाध्यक्ष कवि मित्रलाल पंज्ञानीले र पुरस्कृत व्यक्तित्व मञ्जुलको समग्र योगदानका बारेमा विशेष अतिथि प्रा. केशव सुवेदीले विस्तृत प्रकाश पार्नुभएको थियो ।

सदनका सदस्य तथा व्यक्तित्व छनोट समितिका सदस्य पूर्व राजदूत रमेश खनालले विषय प्रवेश र स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा सदनका सदस्यहरू त्रिलोचन आचार्य र सुनीता बुढाथोकीले रिमालका कविता वाचन गर्नुभएको थियो भने सागर न्यौपाने र साथीहरूले रिमालको “जङ्गी निसान ” गीत गाउनु भएको थियो ।

सदनका सचिव प्रह्लाद पोख्रेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमका अन्त्यमा सभाध्यक्ष प्रा. पौडेलले साहित्य सदन नेपालका संस्थापकहरू केदारमान व्यथित, रमेश विकल, अमिर थापा, गङ्गाप्रसाद उप्रेती तथा पूर्णप्रकाश नेपाल यात्रीहरुको योगदानको स्मरण गर्दै उपस्थित सबैलाई धन्यवाद प्रदान गरी सभा समापन गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञिक, साहित्यिक तथा पारिवारिक क्षेत्रका गरी उल्लेख्य व्यक्तित्वहरूको उपस्थिति थियो ।

Facebook Comments