अर्को वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः राष्ट्रपति ट्रम्प
![](http://voiceofkathmandu.com/wp-content/uploads/2020/11/president-trump-address-07-rt-jef-190108_hpMain_16x9_992-700x496-1.jpg)
काठमाडौं, २०७७ कात्तिक २९ गते शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले आफु हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिनुभएको हो ।
यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताउनुभएको थियो । त्यस कार्यक्रममा उहाँले भन्नुभएको थियो-आगामी अप्रिल महिनासम्ममा सबे जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।
त्यसपछि यहाँका बृद्धबृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिनुभयो । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उहाँले बताउनुभयो ।
यसअघि पनि उहाँले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिनुभएको छ । निर्वाचनमा आफ्नो पराजयपछि आज उहाँले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिनुभएको बताइएको छ । रासस