Sat. Jul 27th, 2024

संसदीय समितिबाट तीनजना राजदूत अनुमोदित

काठमाडौं, २०७७ कात्तिक २८ गते शुक्रबार

संसदीय सुनुवाइ विशेष समितिबाट तीनजना राजदूतको नाम अनुमोदन भएको छ । समितिको बिहीबारको बैठकले राजदूतहरुको नाम अनुमोदन गरेको हो ।

सरकारले गत असोज १५ गते अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई राजदूतको लागि सिफारिस गरेको थियो ।

समितिले असोज २१ गते १० दिनको म्याद दिएर उनीहरुविरुद्ध उजुरी भए दिन सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा डा. खतिवडाविरुद्ध ३ वटा र रेग्मी र विश्वकर्माविरुद्ध एक-एक वटा उजुरी परेका थिए ।

कारोवार दैनिक अनलाईनका अनुसार उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

संसदीय समितिमा सुनुवाइका क्रममा डा. खतिवडाले आफूमाथि लागेको भ्रष्टाचारको आरोप निराधार भएको र आफूले राजदूत सरकारसँग नमागेको बताएका थिए । उनले राजदूत पद मन्त्रीसरह हुने भएकोले आफूलाई दिइएको जिम्मेवारी स्वीकारेको समेत जनाएका थिए । सरकारले डा. खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, एल साल्भाडार, होन्डुरस र ग्वान्टेमालका लागि गैरआवासीय राजदूतमा नियुक्तिका सिफारिस गरेको थियो ।

यस्तै लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सवाना, केन्या, कंगो, तान्जानिया, जाबिया, जिम्बावेलगायत देशका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले नियुक्तिका लागि अनुमोदन गरेसँगै तीनैजना राजदूत नियुक्त हुने भएका छन् ।

Facebook Comments