Sat. Jul 27th, 2024

भारतका स्थलसेना प्रमुख नरवणे दिउँसो काठमाण्डौ आईपुग्ने

काठमाडौं, २०७७ कात्तिक १९ गते बुधबार

भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

भारतीय सेनाको विशेष विमानमार्फत उहाँ र उहाँकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आईपुग्नुहुने कार्यक्रम छ । उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । नेपालका प्रधानसेनापति थापाले पनि यसअघि २०७५ सालको पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्नुभएको थियो ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने कार्यक्रममा रहेको छ ।

उज्यालो अनलाईनका अनुसार नक्सा विवादका कारण केही महिनादेखि नेपाल र भारतबीच औपचाकि रुपमा राजनीतिक तहमा छलफल नभईरहेको समयमा उहाँले नेपाल भ्रमण गर्न लाग्नुभएको हो । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिनुभएका नरवणेको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ ।

भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ । उहाँ ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुनेछ ।

Facebook Comments