Sat. Jul 27th, 2024

पूर्व सभामुख महराकी पत्नी सीताको निधन

- कोरोेना संक्रमणको मारमा महरा परिवार ।

काठमाडौं, २०७७ कात्तिक १९ गते बुधबार

पूर्वसभामुख एवं दाङका सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको आज निधन भएको छ । निमानियाको बिरामी रहनु भएकी सीतामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको महराको पारीवारीक स्रोतले जनाएको छ । उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता महराको जन्म २०१८ साल साउन १३ गते भएको थियो । सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँहरुका दुई छोरा र दुई छोरी रहेका छन्।
मिमिरे अनलाईनका अनुसार सीतालाई महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।
२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि सीता प्रहरीको घेरा तोडेर भाग्न सफल हुनुभएको थियो । त्यही दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएको थियो ।
गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

Facebook Comments