Sat. Jul 27th, 2024

कोजाग्रत पूर्णिमा आज, बडादशैंको समापन गरिँदै

काठमाडौं, २०७७ कात्तिक १५ गते शनिबार

नेपालीको महान् चाड बडादशैं आजदेखि समापन हुँदैछ । दशैंको टीका, प्रसाद लगाउने  कार्य आज सम्पन्न गरिँदै छ । बिहानै दशैं घरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत मानिन्छ ।

टाढ-टाढाबाट आवतजावत गर्नुपर्नेहरुले आजैसम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन् । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ ।

आजदेखि दशैं चाड सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतमा आकाशदीप बाल्ने गरिन्छ ।

Facebook Comments