Sun. Jun 14th, 2026

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’   

       

काठमाण्डू, २०८२ वैशाख ११ गते बिहीबार । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताउनुभएको छ । लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता डा. कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा. प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो ।   रासस

Facebook Comments

सम्बन्धित समाचार