Mon. Apr 29th, 2024

डा. केसीको आमरण अनसन स्थगित, कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्न आग्रह

काठमाडौं, २०७६ कार्तिक २६ गते मंगलबार ।

डा. गोविन्द केसीले आमरण अनसन स्थगित गर्नुभएको छ । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उहाँले अनसन स्थगित गर्नुभएको हो । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेकाले उक्त आन्दोलनलाई ध्यानमा राख्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको डा. केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा. केसीले सातबुँदे माग राख्दै कार्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गर्नु भएको थियो । अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो । अनलाईन खवरका अनुसार उहाँलाई लिन सोमबार नेपाली सेनाको हेलिकप्टर डेडल्धुरा पुगेको थियो भने शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले देश कालापानी क्षेत्रको सीमा विवादमा होमिएको बेला अनशन बस्न उपयुक्त नभएको भन्दै स्थगित गर्न आग्रह गर्नु भएको थियो । डा. केसीले भने माग पुरा नगरेसम्म डडेल्धुरा नछाड्ने भन्दै काठमाडौं आउन अस्विकार गर्नुभयो।

तर मंगलबार भने अनसन स्थगित गरेको घोषणा गर्नुभएको छ । ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उहाँले भन्नु भयो । डा. केसीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ।’

Facebook Comments